भक्तपुर स्वास्थ्य र शिक्षा केन्द्र बन्ने दिशामा अग्रसर
भक्तपुर, फागुन १ – नेकपा एमालेका सचिव तथा भक्तपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा अझ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले भक्तपुरमा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने आधार तयार पार्ने अबको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। “पछिल्लो समय अस्पताल, स्वास्थ्य संस्था र सेवा विस्तारले स्थानीय बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउँदै आएका छन्। अब भक्तपुरलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो,” बस्नेतले भन्नुभयो।
उहाँले ‘भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गरी गुणस्तरीय डाक्टर, नर्स र प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना अघि बढाइने जानकारी दिनुभयो। यस अभियानले भक्तपुरलाई स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
शिक्षा क्षेत्रमा पनि उहाँले दाबी गर्नुभयो कि पूर्वाधार विकास, गुणस्तरीय विद्यालय र कलेज विस्तारले भक्तपुरलाई देशकै अग्रणी शिक्षित जिल्ला बनाएको छ। अब शिक्षा, कला, संस्कृति र सम्पदालाई समेटेर नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको उहाँको भनाइ छ।
यसै क्रममा बस्नेतले सूर्यविनायक, मध्यपुर थिमी, भक्तपुर र चाँगुनारायण नगरपालिकाको भावना समेटेर ‘भक्तपुर सांस्कृतिक विश्वविद्यालय’स्थापना गर्ने संकल्प व्यक्त गर्नुभयो। विश्वविद्यालयले शिक्षा क्षेत्रसँगै कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
अन्ततः बस्नेतले मंसिर २१ गते सूर्य चिह्नमा मतदान गर्न मतदातासँग विकास र समृद्धिको यात्रालाई सशक्त बनाउन साथ दिन आग्रह गर्नुभयो।



प्रतिकृया दिनुहोस्