पुरानै गल्ती दोहोर्याउने कि नयाँ भिजनलाई अवसर दिने?
म, हरिचरण साह, “नेपाली जनता दल” का राष्ट्रिय अध्यक्ष, यही पुस्ता, यही समय र यही पीडाको सन्तान हुँ। आज धेरैले ‘जेन्जी’ भनेर उठाएका प्रश्नहरू मेरा लागि नयाँ होइनन्। मैले १२ वर्षको उमेरदेखि सामाजिक अन्याय, गरिबी र असमानताको विरुद्ध आवाज उठाउन थालेको हुँ। मेरो जीवन राजनीति पद र पहुँचको लागि होइन, आम नेपालीको भविष्य सुधार्नको लागि समर्पित छ।
मेरो राजनीतिक यात्रामा मेरो प्रेरणा हुन् मेरे पिता राम प्रसाद शाह र अग्रज नेता विश्णु बहादुर मानन्धर जसले रौतहट-सर्लाहीका गरिब र पीडितहरूको न्यायका लागि लामो संघर्ष गरेका थिए।
म विश्वास गर्छु—“हिमाल, पहाड, मधेश, तराई, सबै नेपाली एउटै परिवारका सदस्य”। अब समय आएको छ, पुरानै सोच र भ्रष्ट प्रवृत्तिलाई निरन्तर अवसर नदिइ नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई प्रोत्साहन दिने।
नेपाली राजनीति र भ्रष्टाचारको चुनौती
विगतका सरकारहरूले जनताको सपना बिउ रोपेका छैनन्, तर निराशा मात्र छरिरहेका छन्। कांग्रेस, एमाले, पूर्व माओवादी र अहिलेको नेकपा—allले आलो-पालो सत्ता सम्हाले। तर जनताको भविष्य सुधार्न सकिएन। भ्रष्टाचार संस्थागत भयो, राज्य संयन्त्र दलको निजी कम्पनीझैँ चलाइयो।
मधेसको नाममा राजनीति गर्ने दलहरूले जनताको पीडा बेचेर सत्तामा आए, तर आफ्नो स्वार्थ पूरा गरेपछि मौन रहे। अब समय आएको छ—जनता सचेत हुँदैछ, पुरानै अनुहार र दलहरूको असली अनुहार देखिने समय।
युवा र नयाँ पुस्ताको आवाज
आज युवाले डराउन छाडेका छन्। उनीहरू प्रश्न उठाउँदैछन्। यही आवाजलाई समेट्दै हामी “हरिचरण-पथ” जस्ता नैतिक अनुशासन, सत्य र जनउत्तरदायित्वको अभ्यास लागू गर्न चाहन्छौं। राजनीति सेवाको माध्यम हो, लुटको होइन।
हामी सत्यवादी, मानवतावादी र विचारको राजनीतिमा विश्वास गर्छौं। हाम्रो लक्ष्य—गाली, घृणा र विभाजन होइन; न्याय, समानता र राष्ट्रनिर्माण हो।
संघीयता, स्थानीय सरकार र सेवा प्रवाह
संघीयता जनताको शासन बन्नुपर्छ, बिचौलियाको व्यापार होइन। स्थानीय सरकारलाई साँच्चै जनताको सरकार बनाउनु हाम्रो प्राथमिकता हो।
आज भ्रष्टाचारले हरेक तहमा शासनको क्षति पुर्याइरहेको छ—सिंहदरबारदेखि पालिका कार्यालयसम्म। सरकारी सेवा महँगो, कमजोर र पहुँचविहीन बनेको छ। यो केवल प्रणालीको दोष होइन, मानसिकता र संस्कारको दोष हो।
भ्रष्टाचार विरुद्ध जनता र राजनीति
भ्रष्टाचार केवल पैसाको चोरी होइन; भविष्य, अवसर र विश्वास चोर्नेको अपराध हो। यसलाई सहेर बस्नु वा मौन रहनु अब विकल्प होइन। यही चुनावले निर्णय गर्नेछ—देशमा भ्रष्टाचारको जरा काटिने कि देश यसले निग्लिने?
“नेपाली जनता दल” इमानदार प्रयास, स्पष्ट योजना र जनताको निगरानीमा चल्ने शासनको बाटो देखाउन आएको छ। अब देश बनाउने राजनीति चाहिन्छ, लुट्ने होइन।
अब निर्णयको घडी
जनता अब मौनताबाट विद्रोहतर्फ जानुपर्छ। सहनशीलताबाट अस्वीकारतर्फ। भ्रष्टाचारलाई सामान्य ठान्ने बानी छोडेर त्यसलाई अपराधकै रूपमा दण्डित गर्ने साहस देखाउनु अब अनिवार्य छ।
पुरानै अनुहार, पुरानै संस्कार र पुरानै भ्रष्ट प्रवृत्तिलाई मत दिनु भनेको भोलि देशको भविष्य आफैं लुटिने खतरा हो।
यो केवल सत्ता परिवर्तनको अवसर होइन, व्यवस्था र संस्कार परिवर्तनको अवसर हो। यदि आज हामी चुप लाग्यौं भने भोलि देश होइन, हाम्रो मौनता दोषी ठहरिनेछ।
(लेखक: हरिचरण साह “नेपाली जनता दल” का राष्ट्रिय अध्यक्ष हुनुहुन्छ!)



प्रतिकृया दिनुहोस्