इतिहासले सम्झिरहने नेतृत्व : विषम परिस्थितिमा अडिग प्रधानमन्त्री

इतिहासले सम्झिरहने नेतृत्व : विषम परिस्थितिमा अडिग प्रधानमन्त्री

काठमाण्डौँ ~ माघ २६, नेपाल जस्तो संवेदनशील राजनीतिक परिवेशमा, जब देशलाई निकास र अभिभावकत्वको सबैभन्दा ठूलो खाँचो थियो, ठीक त्यही घडीमा राष्ट्रको जिम्मेवारी प्रधानमन्त्री सुशिला कार्कीको काँधमा आइपुग्यो। अस्थिरता, अविश्वास र अनिश्चितताले घेरिएको त्यो समय सामान्य थिएन—त्यो समय साहस, दृढता र राष्ट्रप्रतिको निस्वार्थ समर्पण मागिरहेको थियो।

मन्त्रीहरू पद छोडेर हिँड्दा पनि, दबाब र चुनौतीहरूका बीच एक्लै भए पनि अडिग उभिएर कर्मचारी प्रशासन र सुरक्षा निकायको सहयोगमा भयरहित वातावरण सिर्जना गर्दै निर्वाचन सम्पन्न गराउने दायित्व बहन गर्नु सामान्य कुरा होइन। त्यो नेतृत्वको पराकाष्ठा हो। लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित राख्दै नव–निर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा देशको जिम्मा लगाएर विदा हुनु इतिहासमा विरलै देखिने उदाहरण हो।

सम्हाल्नै नसकिने जस्तो देखिएको राजनीतिक माहोलमा प्रधानमन्त्री पदको भार वहन गर्दै देशलाई उच्च जोखिमबाट सुरक्षित मार्गतर्फ डोर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ। यस्तो अवसर सबैले पाउँदैनन्—यो इतिहासले चुनेको क्षण थियो, र तपाईं त्यसमा खरो उत्रिनुभयो।

स्वार्थले भरिएको परिवेशमा पनि ‘मियो’ बनेर राष्ट्रलाई थामिराख्ने साहस, धैर्य र इमानदारीलाई शब्दमा सीमित गर्न सकिँदैन। तपाईंको त्यो हिम्मत र प्रतिबद्धताप्रति सधैं उच्च सम्मान रहनेछ।

प्रधानमन्त्रीज्यू, तपाईंको नेतृत्व, साहस र राष्ट्रप्रतिको निष्ठालाई सलाम।
नेपालले तपाईंलाई सधैं सम्झिरहनेछ।

शुभकामना।

[लेखक दामोदर भट्ट मिडिया ठाँटी प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत (सि.ई.ओ.) साथै ठाँटी खबरका प्रधान सम्पादक हुनुहुन्छ!]