मतदाताको आशिर्वाद र जनसमर्थनले उत्साहित डम्बर बहादुर सुवेदी
म्याग्दी, म्याग्दी जिल्लामा सामाजिक सेवा, संगठन निर्माण र स्पष्ट राजनीतिक धारका कारण परिचित नाम हुन्— डम्बर बहादुर सुवेदी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाएपछि सुवेदीप्रति जनताको चासो र समर्थन थप सशक्त बन्दै गएको छ।
विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका सुवेदी २०५८ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन म्याग्दीको तदर्थ अध्यक्ष हुँदै २०५९ मा जिल्ला अध्यक्ष बने। त्यसपछि २०६४ मा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको जिल्ला अध्यक्ष, राप्रपा म्याग्दी जिल्ला उपाध्यक्ष जस्ता जिम्मेवारी सम्हाल्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
राजनीतिसँगै लायन्स क्लब, सामुदायिक वन, कृषक प्रशिक्षकजस्ता सामाजिक तथा विकासमुखी संघसंस्थामा उनको योगदान उल्लेखनीय छ। “देश विकासका लागि आफैँ अग्रसर हुनुपर्छ” भन्ने स्पष्ट भिजन बोकेका सुवेदी सरल, मिलनसार र जुझारु नेताका रूपमा चिनिन्छन्।
उम्मेदवारीपछि म्याग्दीका विभिन्न स्थानमा पुग्दा मतदाताबाट पाएको आत्मीय स्वागत र आशिर्वादले आफू थप जिम्मेवार बनेको सुवेदी बताउँछन्।
उनका शब्दमा,
“संवैधानिक राजसंस्था र हिन्दु राज्यको पक्षमा स्पष्ट धार बोकेको राप्रपाबाट उम्मेदवार बन्न पाउँदा म गौरवान्वित छु। यही एजेण्डा सफल पार्न म चुनावी मैदानमा उत्रिएको हुँ।”
स्थानीय जनतासँगको लामो सम्बन्ध, विद्यार्थी राजनीति देखि समाजसेवामा देखाएको सक्रियताका कारण यस पटक म्याग्दीमा राप्रपाको पक्षमा बलियो आधार बनेको उनको दाबी छ।
“हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको छ। म जितेपछि पनि सबै मतदाताको सम्मान गर्दै सेवा गर्नेछु,” सुवेदी भन्छन्।
राप्रपाको संगठन जिल्लादेखि वडासम्म मजबुत रहेको उल्लेख गर्दै उनले पार्टीलाई कमजोर देखाउने भ्रम चिर्दै यस पटक देशभर नै राप्रपाको पक्षमा लहर आएको बताए।
उनका अनुसार,
“राप्रपा जन्मजात भ्रष्टाचार विरोधी पार्टी हो। विकास, सुशासन र राष्ट्रिय पहिचानको पक्षमा स्पष्ट एजेण्डा भएकाले जनताको विश्वास बढ्दै गएको छ।”
अन्त्यमा मतदातालाई सन्देश दिँदै सुवेदीले विकासवादी, हिन्दुवादी र राजसंस्थावादी शक्तिलाई बलियो बनाउने अवसर यही निर्वाचन भएको बताए।
“यो अवसर राप्रपालाई जिताउने हो। म्याग्दीबाट हाम्रो एजेण्डाको अनुमोदन हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।”
म्याग्दीमा डम्बर बहादुर सुवेदीको उम्मेदवारी केवल एक चुनावी प्रतिस्पर्धा मात्र नभई— राप्रपाको मूल एजेण्डा स्थापित गर्ने राजनीतिक अभियानका रूपमा हेरिन थालेको छ। (स्रोत : सनत गिरी)



प्रतिकृया दिनुहोस्