१० लाख घुस काण्ड: वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित ३ जनाको मुद्दा आज सर्वोच्चमा

१० लाख घुस काण्ड: वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित ३ जनाको मुद्दा आज सर्वोच्चमा

काठमाडौँ। वैदेशिक रोजगारीको नाममा घुस लेनदेन गरेको आरोपमा दोषी ठहर भइसकेका वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइमा चढेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँलअब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

विशेष अदालतले पूर्वमहानिर्देशक पाण्डेलाई २ वर्ष कैद र ३ लाख ३३ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही प्रकरणमा विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेलनायव सुब्बा खड्गबहादुर केसीलाई पनि जनही ३ लाख ३३ हजार जरिवाना र कैद सजायसुनाइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने बहानामा एक म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस मागिएको थियो। यही आरोपमा २०७४ पुस ४ मा अख्तियारले उनीहरूमाथि मुद्दा दायर गरेको थियो।

२०७७ सालमा विशेष अदालतले तीनै जनालाई घुस प्रकरणमा भ्रष्टाचारी ठहर गरेपछि उनीहरू सर्वोच्च अदालत पुगेका हुन्।

अब प्रश्न सर्वोच्चको ढोकामा छ—
विशेष अदालतको फैसला कायम रहन्छ कि उल्टिन्छ?