मुग्लिन–पोखरा सडक विस्तारले लियो रफ्तार: पश्चिम खण्ड लगभग ७०% सम्पन्न, यात्रुमा आशा
काठमाडौँ । वर्षौंदेखि प्रतीक्षामा रहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले पश्चिम खण्डमा उल्लेखनीय गति लिएको छ। जामुने–पोखरा खण्डमा काम तीव्र रूपमा अघि बढ्दै जाँदा हालसम्म भौतिक प्रगति ६९.९६% र वित्तीय प्रगति ६५.२६% पुगेको आयोजनाले जनाएको छ।
कुल ३८.७१ किलोमिटर लामो यस पश्चिम खण्डमध्ये पुल बाहेक ३८ किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रे कार्य सम्पन्न भइसकेको छ। यसले पोखरा र आसपासका क्षेत्रका यात्रु तथा व्यवसायीमा ठूलो आशा जगाएको छ।
२०७८ भदौमा सुरु भएको परियोजना पटक–पटक म्याद थपिँदै आए पनि अहिले कामले स्पष्ट रफ्तार लिएको छ। ठेक्का म्याद आगामी पुससम्म कायम छ। समयमै काम नहुँदा यसअघि दुई पटक म्याद थपिएको इन्जिनियर कुँवरले जानकारी दिए। हाल परियोजनाको निर्माण कार्य चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले तीव्र रूपमा अघि बढाइरहेको छ।
पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने एक पुल निर्माणाधीन छ। त्यस्तै, १०५ वटा कल्भटको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
तनहुँका म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोलातथा कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको छ।
कास्कीस्थित सेती नदीमा निर्माणाधीन पुलको भौतिक प्रगति ५३.४५% र वित्तीय प्रगति ५१.६३% पुगेको छ।
यो सडक सम्पन्न भएपछि यात्रा समय घट्ने, दुर्घटना कम हुने र पर्यटन तथा व्यापार प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। मुग्लिन–पोखरा सडक अब “दुःखको यात्रा” बाट सुखद यात्रातर्फ उन्मुख हुँदैछ।



प्रतिकृया दिनुहोस्