नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न

काभ्रेपलाञ्चोक, १२ फागुन

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

उक्त अवसरमा संघकी अध्यक्ष कुँवरले विद्यालयको मुखपत्र ‘दीपिका २०८१’ को विमोचन गर्नुका साथै विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरूबाट प्रदर्शित विभिन्न क्रियाकलापहरूको अवलोकन समेत गर्नुभयो । 

कार्यक्रममा संघकी अध्यक्ष कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित यस विद्यालयले समाजका महत्वपूर्ण क्षेत्रका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत यस विद्यालयबाट दिक्षित विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिहरूले यस विद्यालयको उत्कृष्टतलाई प्रमाणित गरेको बताउनुभयो ।

ंघकी अध्यक्ष कुँवरले किताबी कोरा ज्ञानमा मात्रै सीमित नभएर अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै जवन उपयोगी बनाउँदै लैजानुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर हुने वातावरण निर्माणलाई पनि प्राथमिकता दिन सकेमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने र त्यसले राज्यलाई पनि उपलब्धिमूलक परिणाम प्राप्त हुने चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र शिक्षा विकास तथा समन्वय का काभ्रेपलाञ्चोककी प्रमुख देवका ढकालले विद्यालयमा स्थापित विभिन्न अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो । 

नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, ट्रयाक एण्ड फिल्ड ईभेन्ट्स तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका   थिए । 

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

✍🏻✍🏻

प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)