मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, चालक फरार, प्रहरीले खोजी जारी

मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, चालक फरार, प्रहरीले खोजी जारी

कपिलवस्तु, १ कात्तिक — कपिलवस्तु नगरपालिका-९ जग्दिशपुरस्थित सडकमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

स्थानीय अनुसार, हाल नम्बर नखुलेको सवारी साधनले लु.२० प ९४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार बाणगंगा नगरपालिका-९ भलवाडका २९ वर्षीय रमेश आचार्य गम्भीर घाइते भएका थिए। उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन्, जसलाई थप उपचारको लागि सनराइज इन्टरनेशनल अस्पताल, बुटवलमा रिफर गरिएको छ।

ठक्कर दिने सवारी साधन चालक अहिले फरार रहेको प्रहरीले जनाएको छ र उनको खोजी कार्य तीव्र पारिएको छ।

प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।