प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष कार्कीले गरे पदभार ग्रहण

प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष कार्कीले गरे पदभार ग्रहण

काठमाडौं। प्रभु बैंकको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले पदभार ग्रहण गरेका छन्। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कार्कीले आज सोमबार बसेको बैंकको सञ्चालक समितिको ३८१ औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन्। राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दीर्घ रावलको समेत उपस्थिति थियो।  यस अवसरमा प्रभु बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति थियो। विंसं. २०८१/९/२९ मा सम्पन्न बैंकको २३ औं वार्षिक साधारणसभामा सर्वसाधारण समूहका सेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की यही असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८० औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका कार्की यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयको सहसचिवको रुपमा सेवा गरेका थिए। त्यसैगरी निजामती किताबखाना, आन्तरिक रजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका अध्यक्ष कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेरसमेत काम गरेका थिए।

३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रहेर विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका कार्कीले नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, सेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैका लागि गौरवको विषय हो। उनको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवासाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ।