दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
चाडपर्वको खुसीयालीसँगै सडकमा बढेको यात्रु र सवारीको चापका कारण यस वर्षको दसैँ अवधिमा देशैभर ठूलो जनधनको क्षति भएको छ। असोज २५ देखि कात्तिक ८ गतेसम्मको १५ दिनमा देशका विभिन्न स्थानमा भएका १ हजार ३३९ वटा सवारी दुर्घटनामा परी १ सय २४ जनाको दर्दनाक मृत्यु भएको छ। मृत्यु हुनेमा ८३ पुरुष, ३९ महिला, ७ बालक र ५ बालिका रहेका छन्। यी दुर्घटनाहरूमा २ हजार ९८८ जना घाइते भएका छन्, जसमध्ये ४ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ।
प्रहरीको तथ्याङ्क अनुसार देशभर सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा (३९७ वटा) र सबैभन्दा कम मधेश प्रदेशमा (८० वटा) भएका छन्। दुर्घटनामा परेका कुल २ हजार ४८१ सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल (१,५५२ वटा) रहेका छन्। त्यसैगरी जिप/कार ३३७, टेम्पो २०७, ट्रक/ट्याङ्कर ७१ र बस ५४ वटा दुर्घटनामा परेका छन्। गत वर्षको दसैँमा १ हजार ४९२ दुर्घटना भएकोमा यस वर्ष केही कमी आए पनि क्षति भने निकै भयानक रहेको छ।
दुर्घटना नियन्त्रणका लागि अहोरात्र खटिएको नेपाल प्रहरीले दसैँको अवधिमा मात्रै नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरेको छ। जसमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाउने २,७९४, सिट क्षमताभन्दा बढी यात्रु राख्ने १,८८२, तीव्र गतिमा हाँक्ने ७४६ र बढी भाडा असुल्ने ५८ जना कारबाहीमा परेका छन्।
दुर्घटना न्यूनीकरणका कदमबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (DIG) अबि नारायण काफ्लेले भन्नुभयो— “सवारी छुट्ने स्थानमै चालकको लाइसेन्स, मापसे/लापसे, सिट क्षमता र TCA एपमार्फत लामो दूरीका गाडीमा २ जना चालक भए/नभएको कडा चेकजाँच गरिएको छ।” प्रहरीले देशभर ४०८ यात्रु सहायता कक्ष र १०८ सीमा नाकामा हेल्प डेस्क सञ्चालन गरेको छ। अब नजिकिँदै गरेका तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरणका लागि थप विशेष सुरक्षा योजना लागू गरिएको र ट्राफिक नियम उल्लङ्घन गरेको देखेमा १०० वा १०३ मा खबर गर्न प्रहरीले आम नागरिकलाई अपिल गरेको छ।



प्रतिकृया दिनुहोस्