देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको अकालमै मृत्यु भएको छ। गुल्मी, सप्तरी र पाल्पामा भएका यी भयानक सडक दुर्घटनामा ८ जनाको ज्यान जानुका साथै अन्य केही गम्भीर घाइते भएका छन्। गुल्मीमा भएको स्कार्पियो दुर्घटनामा ६ जना र सप्तरी तथा पाल्पामा भएका दुर्घटनामा १/१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गुल्मीको कालिगण्डकी गाउँपालिका-२ दबौखानीस्थित सडकमा गुल्मीको शिरकोटबाट स्याङ्जा वालिङतर्फ जाँदै गरेको बिएए ०२२० नम्बरको स्कार्पियो सोमबार दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक स्याङ्जा वालिङ-२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ-१० का ६० वर्षीय शिव पराजुली, ७० वर्षीय लोकनाथ पाण्डे, बुटवल बस्ने ६० वर्षीया सिता पाण्डे र ६२ वर्षीय कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। यस्तै, वालिङ-२ की ६० वर्षीया निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ३ जनामध्ये २ जनाको मिसन अस्पताल पाल्पा र १ जनाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ।
यसैगरी, सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-१ जन्डोलमा रोकिराखेको ट्रक (बा.प्र.०३-००१ ख ४१९४) मा मोटरसाइकल (स.९ प ६४४५) ठोक्किँदा ३० वर्षीय सुनिल कुमार चौधरीको प्राईम अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ। उता पाल्पाको तिनाउ गाउँपालिका-३ माथिल्लो सिद्दबाबास्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा गुल्मी धुर्कोटकी ३७ वर्षीया माया कुवँरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनापछि प्रहरीले सप्तरीमा ट्रक चालक र पाल्पामा बस चालकलाई नियन्त्रणमा लिएर घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको छ। चाडपर्व र वर्षात्पछिको बिग्रँदो सडक अवस्थाका कारण सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउन र तीव्र गति नियन्त्रण गर्न प्रहरीले सबै चालकहरूमा अपिल गरेको छ।



प्रतिकृया दिनुहोस्