आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ

आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ

वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर सोझासाझा नागरिकको उठिबास लगाउने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मलेसिया पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ असुलेर सम्पर्कविहीन बनेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले काठमाडौँबाटै नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीको फन्दामा पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका-६ घर भई हाल नागार्जुन नगरपालिका-१० बस्ने ४४ वर्षीय संजय सुवेदी र चितवनको राप्ती नगरपालिका-१ घर भएकी ३४ वर्षीया मधु मालती स्याङताङ रहेका छन्। उनीहरूले वैदेशिक रोजगारीको नाममा सर्वसाधारणलाई ठग्दै संजयले एक पीडितबाट ७ लाख र मधुमालतीले अर्का एक पीडितबाट २ लाख रुपैयाँ कुम्ल्याएर फरार भएका थिए।

पीडितहरूको जाहेरी र सुराकीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कडा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा दलालहरू सक्रिय हुने क्रम बढेकाले कुनै पनि व्यक्ति वा संस्थालाई पैसा बुझाउनुअघि वैधानिक प्रक्रिया र आधिकारिकता यकिन गर्न सम्बन्धित निकायले सबैमा आग्रह गरेको छ। यस्ता ठगी धन्दा गर्नेहरूका कारण सर्वसाधारण ठूलो आर्थिक जोखिममा पर्ने गरेकाले सचेत रहन प्रहरीले जोड दिएको छ।