काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा

काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा

काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याट फोरेर नगद र गरगहना चोरी गर्ने गिरोह अन्ततः प्रहरीको फन्दामा परेको छ। कलंकी क्षेत्रमा भएका श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गर्न सफल भएको छ।

प्रहरीको जालोमा पर्नेहरूमा भारत घर भई काठमाडौंको कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, ४६ वर्षीया विणा देवी, चन्द्रागिरीको सतुंगल बस्ने १९ वर्षीय राजु पोदार र २३ वर्षीय राजेन्द्र कुमार रहेका छन्। उनीहरूले उपत्यकाका विभिन्न स्थानमा संगठित रूपमा चोरीका गतिविधि सञ्चालन गर्दै आएका थिए।

काठमाडौं महानगरपालिका-१४ कलंकी तासिङडोल मार्ग बस्ने सिता थपलियाको फ्ल्याट र निरञ्जन नेपालको घरबाट नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी भएको घटनामा उनीहरूको संलग्नता खुलेको हो। अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना, मोबाइल १६ थान, घडी १० थान लगायतका ठूलो परिमाणका चोरीका सरसामान समेत बरामद गरेको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनबमोजिम कडा कारबाहीका लागि प्रहरी वृत्त, कालिमाटी पठाइएको छ। पछिल्लो समय डेरा तथा घरमा हुने चोरीका घटनालाई नियन्त्रण गर्न प्रहरीले निगरानी अझ कडा पारिएको जनाएको छ।