गीति कविता: परदेशी मन (माटोको सुगन्ध) – परशुराम भट्ट
परदेशी यो ज्यान मेरो, नेपाली नै मन छ
जहाँ गए नि यो मुटुमा, देशकै धड्कन छ ।
बिर्सिएको छैन आमा, कोदोको त्यो ढिँडो
गुन्द्रुकको अचारसँग, जिन्दगीको भिडो ।
परदेशी यो ज्यान मेरो, नेपाली नै मन छ…
बगुवा, घ्याम्पेशाल, सिख्रे, बार्हबिसे अनि झिगिटे
आँश्राङ, आहालेभञ्ज्याङ, आरुघाटको फेदी भेटे ।
गोनापाको माटो सम्झी, रुन्छु बेला-बेदी
घर-परिवार, इष्टमित्र, छुटेपछि यो वेदी ।
देशको माया कस्तो हुँदो, बुझें परदेशमै गई
मनको पीडा कसलाई भनूँ, आँखाभरि आँसु भई ।
लोकल चामलको भात, तिहुन अनि तिउन
गाउँकै पाखा-पखेरामा, मन छ फेरि जिउन ।
ढुङ्गेधारा, चौतारी अनि मेलापातको धुन
ती सम्झनाले अझै पोल्छ, यो बिरानो जुन ।
दश वर्षे जनयुद्धको, त्याग र तपस्या
देश फेर्न हिँडेकाहरू, बोक्दै हजार समस्या ।
शहीदको त्यो रगतले, इतिहास कोरियो
बेपत्ताका आँसु माथि, नयाँ बिहानी फेरियो ।
सगरमाथा शिरमा बोकी, नेपाली छु भन्छु
जहाँ पुगे नि आफ्नै भाषा, गर्वसाथ म गन्छु ।
नेपाल आमा मुटुभित्र, सधैं दीप झैं बाल्छु
बिरानो यो संसारमा, माटोलाई नै सम्झन्छु ।
सम्झिन्छु ती दिनहरू, २०६२ सालको बेला
दश रुपैयाँ नहुँदा पनि, हाँसेको त्यो मेला ।
बानियाटारबाट आरआर, पैदल हिँडेको बाटो
भोकभोकै सपना बोकी, समातेको थिएँ हातो ।
आज पोर्चुगलको सडकमा, शरीर यहाँ भए नि
मन त मेरो नेपालमै छ, पाइला यता गए नि ।
रातभरि काम गर्दा पनि, गाउँकै जून सम्झन्छु
आमाको त्यो न्यानो काखमा, फर्किने दिन कुर्छु ।
परशुराम भट्टा म त, गोनापाको छोरो
देशको माया छातीभित्र, सगरमाथा जत्रो ।
यो बिरानो भूमिबाट, माटोलाई ढोग्दछु
आफ्नै गाउँको काखमा आउने, दिन म रोज्दछु ।
हो… परदेशी यो ज्यान मेरो, नेपाली नै मन छ
जहाँ गए नि यो मुटुमा, देशकै धड्कन छ ।।



प्रतिकृया दिनुहोस्