दुबई उडानबारे नेपाल एयरलाइन्सको सूचना : यात्रुहरूलाई टिकट पुनः प्रमाणीकरण गर्न आग्रह
काठमाडौं, Nepal Airlines Corporation (नेपाल एयरलाइन्स) ले दुबई उडान सम्बन्धी नयाँ सूचना जारी गर्दै यात्रुहरूलाई विमानस्थल जानुअघि टिकट पुनः प्रमाणीकरण गर्न आग्रह गरेको छ।
निगमले २०८२ फागुन २७ गते (११ मार्च २०२६) का लागि निर्धारित काठमाडौं–दुबई–काठमाडौं उडानमा टिकट लिएका यात्रुहरूलाई इमेलमार्फत टिकट पठाएर यात्रा मिति पुनः पुष्टि गर्न अनुरोध गरेको हो।
निगमका अनुसार विमानमा उपलब्ध सिटका आधारमा पहिला आउनेलाई पहिले सेवा (First Come First Serve) को आधारमा टिकट पुनः प्रमाणीकरण गरिनेछ। यसअघि उडान स्थगित भई प्रभावित भएका यात्रुहरूलाई पहिलो प्राथमिकता दिइने जनाइएको छ।
नेपाल एयरलाइन्सले सोही दिन विशेष उडान सञ्चालन गर्ने पनि जनाएको छ। सूचना अनुसार RA229 (काठमाडौं–दुबई) उडान ११ मार्च राति ११:१५ बजे प्रस्थान गर्नेछ भने RA230 (दुबई–काठमाडौं) उडान १२ मार्च बिहान ४:१० बजे दुबईबाट प्रस्थान गर्नेछ। उडानको समय नियमित तालिकाअनुसार रहने निगमले जनाएको छ।
फागुन १६ देखि २५ (२८ फेब्रुअरी–९ मार्च २०२६) बीच टिकट किनेर पनि यात्रा गर्न नपाएका यात्रुहरूले ११ मार्चको उडानका लागि निगममा टिकट पुनः प्रमाणीकरण गराउनुपर्नेछ। निगमले प्रमाणीकरण भएका यात्रुहरूलाई मात्रै विमानस्थल जान आग्रह गरेको छ।
निगमले टिकट पुनः प्रमाणीकरणका लागि sales@nac.com.np इमेलमा टिकट पठाउन वा ०१–५७१८५३८ / ५७१८५३९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। दुबईबाट नेपाल आउन चाहने यात्रुहरूले nac_dxb@nac.com.np इमेल वा +९७१ ५४४३११७५० र +९७१ ५०५०७४२४७ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
यसैबीच मध्यपूर्व क्षेत्रमा देखिएको कठिन अवस्था र सुरक्षाका कारण उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने निगमले जनाएको छ। प्रतिकूल परिस्थितिका कारण यात्रा प्रभावित भएमा त्यसबाट उत्पन्न अतिरिक्त आर्थिक वा अन्य जिम्मेवारी निगमले वहन गर्न नसक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
निगमले यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशित सूचनाहरू नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्