“जनमत कसैको लहड र हठबाट चल्दैन”- मार्शल राठौर
जनमत कसैको लहड र हठबाट चल्दैन।
राजनीति होस् वा कुनै पनि नीति, त्यो विशेष समय, काल र परिस्थितिअनुसार परिवर्तन हुन्छन् र हुनुपर्छ। नाम मात्रैको राजनीतिक परिवर्तनले खासै केही नहुने रहेछ, यो ध्रुवसत्य हो।
देशले परिवर्तन खोजिरहेको भन्ने प्रमाण निर्वाचन र प्राप्त जनमतबाट नै प्रष्ट भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) दुई तिहाइ स्थानका लागि अग्रसर देखिएको छ भने पुराना दलहरूलाई वास्तविक धरातल पनि देखाएको अवस्था छ।
२०४६ सालपछि भएका हरेक निर्वाचनमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रमुख दलका रूपमा स्थापित हुँदै आएका थिए भने २०६२/६३ पछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको थियो। विशेषगरी जनयुद्धको पृष्ठभूमिबाट शान्ति प्रक्रियामार्फत बहुदलीय राजनीतिमा प्रमुख दलका रूपमा उदाएको थियो। त्यसपछि हरेक राजनीतिक उतार–चढावमा नेपाली राजनीतिका केन्द्रबिन्दुमा यी नै तीन दलहरू रहँदै आएका थिए। पछिल्लो समय राजनीतिमा एक फरक दलको उदय देखियो, त्यो दल हो राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)। २०७९ सालको संसदीय निर्वाचनमा चौथो राजनीतिक शक्तिको हैसियत बनाउन सफल भयो।
यसको पछाडि विभिन्न कारणहरू छन्। तीमध्ये प्रमुख कारण पुराना दलहरूले जनतालाई दिएका वाचा परिणाम र व्यवहारमा रूपान्तरण गर्न नसक्नु, भ्रष्टाचार र कमिशनतन्त्र मौलाउनु, कामभन्दा गफ र आश्वासन बढी हुनु, तथा काम गर्ने शैलीप्रतिको असन्तुष्टि प्रमुख देखिन्छ।
देशमा सुशासनको अवस्था नारामा सीमित हुनु, कर्मचारीतन्त्रमा दलगत राजनीति हाबी हुनु, काम नहुनु, दलिय भागबण्डा लगायत व्यक्तिगत तथा राजनीतिक प्रतिशोधपूर्ण व्यवहारका कारण पुराना दलहरूप्रति युवा पुस्ता, विशेषगरी जेन–जेड (Gen Z) युवाहरू र आम नेपालीहरूमा वितृष्णा जागेको देखिन्छ।
नेपाली राजनीतिक वृत्तमा नेपाली कांग्रेसलाई तुलनात्मक रूपमा जनताले नरम रूपमा सम्मान गर्ने गर्दथे। कांग्रेसको इतिहासलाई एक पुस्ताले अत्यन्त शिष्ट तथा सम्मानका साथ हेर्दथ्यो। तर पछिल्लो समय त्यो सम्मान कांग्रेसले जोगाउन सकेन। धेरै विवादित बन्यो कांग्रेस। चाहे त्यो टेरामक्स काण्ड होस्, वा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाइएको काण्ड होस्। अझ भन्ने हो भने अन्य नेताहरूलाई शेरबहादुर देउवाको आसेपासे पोस्ने, अदूरदर्शी नेतृत्वदेखि पार्टीभित्र आरजु राणा देउवा, मञ्जु खाँडलगायतका महिला नेतृहरूको विभिन्न आर्थिक चलखेलमा संलग्न रहेको भनिएका गतिविधिहरूले पनि कांग्रेसलाई पछिल्लो समय आम नेपाली जनतामाझ अलोकप्रिय बनाउन भूमिका खेले। यसको नतिजा निर्वाचन परिणामबाट झन् प्रष्ट भएको छ।
विशेष महाधिवेशन गरेर गगन थापा अध्यक्ष भए र “बदलिऔँ हामी, बदलियो कांग्रेस” भन्ने उद्घोषका साथ निर्वाचनमा होमिए पनि उही पुराना विवादित सदस्यहरूलाई उम्मेदवार बनाइएकाले खासै परिवर्तन भएको महसुस मतदाताहरूले गर्न सकेनन्। फलस्वरूप कांग्रेस इतिहासकै कठिन घडीमा पुगेको अवस्था सिर्जना भयो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाली राजनीतिका हरेक निर्वाचनका बेला केन्द्रमा रहेको पार्टी हो। विशेष रूपमा २०७२ साल असोज ३ मा नयाँ संविधान जारी भएपछि भएको नाकाबन्दीको समयमा देखाएको दृढताका कारण एमाले चर्चा र लोकप्रियताको शिखरमा पुगेको थियो। त्यस समयमा देखाएको दृढताको समस्त नेपालीहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए।
त्यसपछि २०७४ मा ठूलो र शक्तिशाली राजनीतिक पार्टीका रूपमा दरिलो रूपमा स्थापित भएको थियो। अझ नेकपा माओवादीसँग एकता गरेर दुई तिहाइको सरकार बनाएको पार्टी पनि एमाले नै हो। २०७९ को निर्वाचनमा पनि उल्लेख्य सिट संख्या हासिल गरे तापनि नेपाली कांग्रेससँग मिलेर सत्तासीन बनेको थियो र के.पी. ओली प्रधानमन्त्री बनेका थिए।
सरसर्ती हेर्दा नेकपा (एमाले) राजनीतिक रूपमा कांग्रेस–एमाले गठबन्धन सरकारको नेतृत्व गर्दै गरेको पार्टी थियो। तर यति हुँदाहुँदै पनि एमाले सरकार सञ्चालनभन्दा बढी विभिन्न अराजनीतिक गतिविधिका कारण चर्चामा रहेको देखिन्थ्यो।
रवि लामिछानेप्रति ओली र एमालेको बोली र व्यवहारमा तालमेल देखिँदैन। विशेषतः गिरीबन्धु जग्गा काण्डको छानबिनको कुरा रवि लामिछानेले उठाउने चर्चा भएपछि ओलीको व्यक्तिगत प्रतिशोध चरम बिन्दुसम्म पुगेको देखियो। ओलीका फेद न टुप्पाका टिप्पणी, उखान–टुक्का र अन्य दल तथा व्यक्तिहरूप्रति गरिएका कटाक्षहरू बढी चर्चामा रहने गर्थे। यही शैली सम्भवतः एमालेका लागि घातक बन्न पुग्यो।
अर्कोतर्फ भ्रष्टाचारसँग जोडिएका विभिन्न काण्डहरूमा एमालेको नाम जोडिनु—ओम्नी काण्ड, गिरीबन्धु काण्ड जस्ता घटनाहरू—समेत विवादका कारण बने। साथै जेन–जेड युवाहरूलाई “हा हा हु हु” भन्दै समग्र नयाँ पुस्ताप्रति गरेको अपमान, भदौ २३ र २४ गतेको आन्दोलनमा प्रहरी दमन तथा ७६ जना युवाको मृत्युबारे दिएका गैरजिम्मेवारपूर्ण अभिव्यक्तिहरू पनि आजको निर्वाचन परिणामका प्रमुख कारण बनेका देखिन्छन्।
यो निर्वाचनको जनादेशले एउटा कुरा प्रष्ट गरेको छ—मार्क्स, लेनिन, माओ वा अन्य कुनै पनि पुरातन राजनीतिक वाद वा दर्शनको आड लिएर जनतालाई दम्भ, अहंकार र हावादारी गफ मात्र दिएर राजनीति चल्दैन।
यो निर्वाचनको नतिजाले सबै दलहरूलाई एउटा पाठ सिकाएको छ—विगतका गाथा गाएर वा विगतको बलिदान भजेर त्यसको ब्याज खाने दिन अब गए।
सुझबुझपूर्ण नेतृत्व, सही रणनीति, सही विश्लेषण र व्यवस्थापनको नयाँ शैली पनि अत्यन्त महत्वपूर्ण हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी यस अर्थमा अगाडि देखिएको छ। रणनीतिक रूपमा पनि रा.स्व.पा. मा बालेन्द्र साहको आगमनले पार्टीलाई ठूलो फाइदा पुगेको देखिन्छ, जसले मधेश लगायत अन्य क्षेत्रमा माहोल आफ्नो पक्षमा पार्न महत्वपूर्ण भूमिका खेलेको छ।
लोकतन्त्रमा निर्वाचनको माध्यमबाट जनतामा जानु राजनीतिक दल र तिनका सदस्यहरूका लागि निर्विकल्प प्रक्रिया हो। यसबाट आत्तिनु पर्ने होइन। तर निर्वाचन नजिकिँदै जाँदा एमालेका केही गतिविधिहरू—अन्य दल र उम्मेदवारलाई लक्षित गैरजिम्मेवारपूर्ण अभिव्यक्ति तथा लठैतहरूको हुल बाँधेर गाउँ–गाउँ ठर्काउन खोज्ने प्रवृत्ति—आज एमालेका लागि गतिलो पाठ बनेको देखिन्छ।
मुख्य रूपमा बुझ्नुपर्ने कुरा के हो भने जनता डर र धम्कीले डराउँदैनन्। कुनै पनि राजनीतिकर्मी जनताका मालिक होइनन्, बरु सेवक हुन्। जनतालाई दम्भ, अहंकार र धम्कीले जित्ने होइन, नम्रता र शिष्टताका साथ देश र जनताको आवश्यकता बुझेर काम गरेर देखाउनुपर्छ।
आशा छ, २०८२ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजाबाट नेपालका राजनीतिक दल तथा नेता–कार्यकर्ताहरूको चेत खुल्नेछ।


प्रतिकृया दिनुहोस्