बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार ठगी, महिला पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार ठगी, महिला पक्राउ

काठमाडौं, २२ माघ — वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाएर बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१६ बस्दै आएकी नुवाकोट तार्केश्वर गाउँपालिका–१ स्थायी घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार कुमारी तामाङले बेलायत पठाइदिने आश्वासन दिँदै २ जना पीडितबाट जम्मा ७ लाख ९० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकी तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल (काठमाडौं) पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।