“मधुसूदन पौडेलको चेतावनी: ‘वाग्मती प्रदेशले अहिलेको केन्द्र सरकारलाई चिन्दैन’

“मधुसूदन पौडेलको चेतावनी: ‘वाग्मती प्रदेशले अहिलेको केन्द्र सरकारलाई चिन्दैन’

रामेछाप, पुस २६ – वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले सुशीला कार्की नेतृत्वको वर्तमान केन्द्र सरकारलाई संविधान र प्रदेश सरकारले नचिनेको स्पष्ट पार्नुभएको छ।

मन्त्रि पौडेलले मन्थली नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि तथा लघुउद्यम मेलाको उद्घाटन गर्दै भन्नुभयो, “हालको केन्द्र सरकारलाई संविधानले चिन्दैन। संविधानमा पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न सक्ने उल्लेख छैन। वाग्मती प्रदेश सरकारले यो सरकारलाई चिन्दैन।”

उहाँले २०७२ को संविधान जनताले बनाएको संविधान भएको र यसमा बहस गर्ने अधिकार मात्र जननिर्वाचित संस्थासँग रहेको उल्लेख गर्दै, केन्द्र सरकारले संविधान विपरीत कुनै निर्णय गर्न नहुने स्पष्ट पार्नुभयो।

पौडेलले भदौ २३ को आन्दोलनलाई युवा विद्रोहको रूपमा मूल्याङ्कन गर्दै त्यसको दुरुपयोग गरेर भदौ २३–२४ मा हिंसा र देश जलाइएको भन्दै, “देश जलाउनेहरुलाई जनताले चिन्न जरुरी छ” भन्नुभयो।

मेलामा ५४ वटा स्टलहरू राखिएका थिए र उद्घाटन कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ तथा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।