नेपाली जनता दल र जनयुग पार्टी एकीकृत : साह राष्ट्रिय अध्यक्ष, सुबेदी कार्यकारी अध्यक्ष
काठमाडौं, ६ मंसिर । ठाँटी खबर ।
हरिचरण साह नेतृत्वको नेपाली जनता दल र नवराज सुबेदी नेतृत्वको जनयुग पार्टी एकीकृत भएर नयाँ राजनीतिक संरचनासहित एक भएर अघि बढ्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित विशेष एकता कार्यक्रममार्फत दुबै पार्टीले ‘नेपाली जनता दल’ नाम र चुनाव चिन्ह ‘सिठ्ठी’ कायम गर्दै एकीकरण सार्वजनिक गरेका हुन्।
घोषणापछि आयोजित पत्रकार सम्मेलनमा दुई दलबीच पाँच बुँदे समझदारीसहित एकीकरण भएको जानकारी दिँदै राष्ट्रिय अध्यक्षमा हरिचरण साह र कार्यकारी अध्यक्षमा नवराज सुबेदी रहनेछ भन्ने औपचारिक रूपमा घोषणा गरियो।
नेपाली जनता दलको विधानअनुसार झण्डामा रहेका चक्रको सट्टा सिठ्ठी छाप राखिने सहमति भएको पनि जानकारी दिइयो।
६३ सदस्यीय केन्द्रीय समिति, चार तहको संगठन
एकीकृत पार्टीले ६३ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेको छ।
यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षदेखि केन्द्रीय सदस्यहरू समावेश हुनेछन्।
संगठनात्मक संरचना चार तहमा रहनेछ–
-
केन्द्रीय समिति
-
प्रदेश समिति
-
जिल्ला समिति
-
स्थानीय तह
नेताहरूका अनुसार पार्टी सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्धतिमा आधारित भएर अघि बढ्नेछ।
पार्टीको सिद्धान्त : मौलिक समाजवाददेखि वैज्ञानिक मानवतावादसम्म
कार्यकारी अध्यक्ष सुबेदीका अनुसार एकीकृत पार्टीको मूल सिद्धान्त–
मौलिक समाजवाद, प्रकृतिवाद र वैज्ञानिक मानवतावाद
सुबेदीले भने,
“राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्दै समृद्धि, सुशासन र पारदर्शिताका लागि विभेदको अन्त्य र प्रत्येक नागरिकलाई गुणस्तरीय जीवनको ग्यारेन्टी हाम्रो उद्देश्य हो।”
नयाँ पुस्ताको आन्दोलनले बनाएको नयाँ राजनीतिक परिस्थिति
साह र सुबेदीले जारी गरेकाे प्रेस विज्ञप्तिमा युवापुस्ता, विशेषगरी जेन-जी आन्दोलनले देशमा नयाँ राजनीतिक चेतना र परिस्थितिको निर्माण गरेको उल्लेख छ।
राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा हुने शोषण, अन्याय, विभेद र अत्याचारको अन्त्य गर्दै समावेशी समाज निर्माण गर्न एकता गरिएको उल्लेख छ।
विदेश नीति : पञ्चशीलमा आधारित स्पष्ट प्रतिबद्धता
दुवै पार्टीबीच भएकाे सहमतिअनुसार एकीकृत पार्टीको विदेश नीति–
-
पञ्चशीलका सिद्धान्तमा आधारित
-
सार्वभौमिकताको सम्मान
-
अहस्तक्षेप
-
पारस्परिक समानता
-
शान्तिपूर्ण सहअस्तित्व
-
अनाक्रमण
साथै वातावरण, नेपाली सभ्यता, मानव अधिकार र सामाजिक न्यायका सवालमा पार्टी निरन्तर संघर्षशील रहने जनाएको छ।
देशभर विस्तार, सबै क्षेत्रमा उम्मेदवारी
राष्ट्रिय अध्यक्ष साहका अनुसार पार्टीले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिने तयारी तीव्र रूपमा अघि बढाइरहेको छ।
कार्यकारी अध्यक्ष सुबेदीले हाल ५० जिल्लामा संगठन विस्तार भइसकेको र निर्वाचनअघि सबै जिल्लामा संगठन पुर्याई सबै क्षेत्रमा उम्मेदवारी दिने योजना रहेको बताए।
सुबेदीले भने,
“राष्ट्रियताको सवालमा असमान धारणा भएकै कारण विदेशी शक्तिहरूले खेल्ने ठाउँ पाएका छन्। अब यो अन्त्य हुनुपर्छ।”



प्रतिकृया दिनुहोस्