छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, ९ कात्तिक

देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

रूपन्देहीको सैनामैना नगरपालिका–५ तुल्बुलिया खोला पुलस्थित सडकमा शनिबार राति मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा २४ वर्षीय विष्णु प्रसाद अर्यालको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारेमा ईभी गाडीको ठक्करबाट ४५ वर्षीया शान्ती देवी साहको शनिबार राति मृत्यु भएको हो।
गम्भीर घाइते भएकी उनलाई नोबेल मेडिकल कलेज विराटनगर पुर्‍याइए पनि बचाउन सकिएन।
उक्त दुर्घटनापछि गाडी चालक फरार छन्, र प्रहरीले खोजी जारी राखेको छ।

प्युठानको माण्डवी गाउँपालिका–१ अरूणखोलामा मोटरसाइकल दुर्घटनामा २६ वर्षीय विष्णु घर्ति मगरको मृत्यु भएको छ।
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा परेका उनी जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा निधन भएको हो।

त्यसैगरी ललितपुरको बाग्मती गाउँपालिका–१ सिस्नेडोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३२ वर्षीय राजु सापकोटाको घटनास्थलमै मृत्यु भएको छ।

ललितपुरकै गोदावरी नगरपालिका–१४ बाडेगाँउमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५० वर्षीया मैया महर्जनको मृत्यु भएको छ।
गम्भीर घाइते भएकी उनको बि एण्ड बि अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

त्यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनिया चोकमा मोटरसाइकल दुर्घटनामा ३० वर्षीय अवधेश मण्डलको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।