“बजेट यथार्थपरक छ” : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थपरक बजेट ल्याएको बताउनु भएको छ ।
इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा उहाँले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित रही बजेट निर्माण गरेको बताउनु भएको हो ।
“नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बनेको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछ भन्ने समाजमा मानसिकता छ, तर यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने प्रयास गरेको छु”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “के गर्दा लोकप्रिय भइएला भन्दा पनि के गर्दा अनुशासित भइएला रु स्रोत व्यवस्थापनको दायरा कसरी बढाउन सकिएला र खर्च व्यवस्थापन गर्न सकिएला भन्ने सोचमा केन्द्रित भइ बजेट निर्माण गरेको छु ।”
उहाँले निजी क्षेत्रको मनोबल बढाउने र लगानीका क्षेत्र बढाउने गरी बजेट आएको समेत दाबी गर्नुभयो । “आगामी आवको बजेट कार्यान्वयनसँगै अर्थतन्त्र चलायमान बन्छ, अर्थतन्त्रको गतिशिलता बढाउनेछ भने उत्पादन बढाउन र रोजगारी सृजनामा पनि काम गर्नेछ”, उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले बजेटसम्बन्धमा आएका सबै विचारलाई आफूले सम्मान गर्ने उल्लेख समेत गर्नुभयो । यसपटक अर्थमन्त्रीका रुपमा आफैले बजेट निर्माण गर्दा संयमित, अनुशासित भएको समेत बताउनु भयो । “बजेटका स्रोत व्यवस्थानका विषयमा देखिएको सीमालाई ख्याल राखेर बजेट निर्माण गरिएको छ, अनिवार्य दायित्वको आकार बढेको छ, त्यसको पनि व्यवस्थापन गरिएको छ भने विकासका लागि प्राथमिकताका आधारमा स्रोत व्यवस्थापन पनि गरिएको छ”, उहाँले भन्नुभयो ।
आफू बजेटमा आएका प्रतिक्रियाबाट पनि म आशावादी बनेको उल्लेख गर्दै उहाँले अब आफ्नो कर्तव्य बजेट कार्यान्वयन भएको बताए । “एक थान बजेट प्रस्तुत गरेर मेरो कर्तव्य पूरा भएको छैन, यसको कार्यान्वयन पनि मेरो जिम्मेवारी हो । बजेटले लिएका उद्देश्य पूरा गर्नेमा पनि मैले ध्यान प्रतिबद्धता जनाउँछु”, उहाँले बताउनु भयो ।


प्रतिकृया दिनुहोस्