निक्कीद्धारा भारतबाट लगानी ल्याउन संयुक्त पहल गर्न लगानी बोर्डलाई प्रस्ताव

निक्कीद्धारा भारतबाट लगानी ल्याउन संयुक्त पहल गर्न लगानी बोर्डलाई प्रस्ताव

मितिः २१ मे २०२५, काठमाडौंः नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की) ले नेपालमा भारतबाट लगानी आकर्षित गर्न लगानी बोर्ड नेपाल (आईबीएन) सँग संयुक्त पहलको प्रस्ताव गरेको छ। यस अन्तर्गत जलविद्युत तथा नवीकरणीय ऊर्जा, उत्पादन तथा औद्योगिक उद्यम, सूचना प्रविधि तथा डिजिटल सेवा, पर्यटन तथा आतिथ्य, शिक्षा तथा सीप विकास, र स्वास्थ्य सेवा तथा चिकित्सा पूर्वाधार क्षेत्रमा लगानी ल्याउने प्रयास हुने निक्कीले जनाएको छ।

आईबीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बधाई दिँदै, निक्कीका अध्यक्ष सुनिल केसीले नेपालमा लगानी भित्र्याउन आईबीएनसँग सहकार्यको प्रस्ताव राखेका हुन्। “नेपालले १९९० को दशकको लगानीको जादु दोहोर्याउनु आवश्यक छ र भारतबाट थप लगानी ल्याउनु पर्छ,” केसीले भने।

केसीले रिलायन्स इन्डस्ट्रीज लिमिटेड अन्तर्गतको नेटवर्क १८ मिडिया एण्ड इन्भेस्टमेन्ट्स लिमिटेडसँग सहकार्यमा काठमाडौंमा ‘नेपाल–भारत संवाद’ आयोजना गर्ने तयारी भइरहेको जानकारी पनि दिए। “यस कार्यक्रम नेपालका परियोजना तथा उत्पादन प्रवर्द्धन गर्न उपयुक्त मञ्च हुनेछ,” उनले भने। “त्यसैगरी, निक्कीले रणनीतिक तहमा द्विपक्षीय लगानी तथा सहकार्य प्रवर्द्धन गर्न नयाँ दिल्लीमा ‘नेपाल–भारत साझेदारी सम्मेलन’ आयोजना गर्दैछ।”

केसीले जानकारी दिएअनुसार, एनआईसीसीआईले भारतका प्रमुख व्यापारिक सहर मुम्बई, कोलकाता, हैदराबाद, बेंगलुरु, अहमदाबाद, गुजरात, पञ्जाब र लखनउ — मा जलविद्युतजस्ता उच्च सम्भावना भएका क्षेत्रहरूमा लक्षित लगानी गोलमेच सम्मेलन आयोजना गर्दैछ। साथै, भारत(नेपाल संयुक्त उद्यम कम्पनीहरूको सफलताका कथाहरू समेटेर एक छोटो डकुमेन्ट्री निर्माण गरी भारतको व्यापार समुदायमा नेपालमा लगानीको अवसर र फाइदाको प्रदर्शन गरिनेछ। यस सम्पूर्ण प्रयासमा लगानी बोर्डको सहकार्यको अपेक्षा राखिएको केसीले बताए।

निक्कीको सुझाव र प्रस्तावलाई सकारात्मकरुपमा लिँदै लगानी बोर्डका सीइओ ज्ञवालीले नेपालमा रहेका भारतीय संयुक्त लगानीका कम्पनीहरुले नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न भूमिका खेल्नसक्ने बताए। “नेपालमा सक्रिय रहेका भारतीय लगानीका कम्पनीहरु समस्या समाधान गर्न बोर्ड र सरकार तयार छन्, तर उनीहरूले नेपालमा लगानीका सकारात्मक पक्षहरू प्रचार गर्नुपर्छ,” उनले भने।

ज्ञवालीले भने, “भारतीय सहरहरूमा विषयवस्तु(आधारित र मुद्दा(आधारित लगानी प्रवर्द्धन महत्त्वपूर्ण छ।” साथै उनले यस्ता अभियानहरूमा निक्कीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। “यदि कुनै विदेशी कम्पनीले विशेष आर्थिक क्षेत्र स्थापना गर्न चाहन्छ भने, बोर्डले निस्शुल्क जग्गा उपलब्ध गराउने प्रयास गरिरहको छ, र जलविद्युत परियोजनाजस्तै सुविधा र प्रोत्साहन दिने योजनामा छ,” उनले थपे।

आईबीएनको सहयोगका लागि धन्यवाद दिंदै, निक्कीका उपाध्यक्ष तथा सुर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले नेपालमा विदेशी लगानीका लागि अवरोध सिर्जना गर्ने केही मुख्य समस्याहरू उल्लेख गरे। “जग्गामा सिमा भएका कारण उद्योगहरू विस्तार गर्न प्रमुख बाधा बनेको छ,” उनले बताए। “बौद्धिक सम्पत्ति अधिकार र नीतिगत अस्थिरता पनि एफडीआईका लागि अन्य प्रमुख अवरोध हुन्।”

“अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध ब्राण्डहरू स्थानीयहरूले दर्ता गरिसकेका छन्, जसले विदेसी लगानीका कम्पनीहरुलाई नेपालमा भित्र्याउन कठिन बनाएको छ। त्यस्तै, नीतिगत अस्थिरता र विभागीय समन्वयको अभावले पनि नेपालमा व्यापार सम्भावनामा नकारात्मक असर पारेको छ,” उनले स्पष्ट पारे।

निक्कीको टोलीमा अध्यक्ष सुनिल केसी, उपाध्यक्ष रवि रायवरम, महासचिव राजन शर्मा र कार्यकारिणी सदस्य कुणाल केयाल सहभागी थिए भने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सहसचिवहरू प्रद्युम्न प्रसाद उपाध्याय र बाबुराज अधिकारी पनि छलफलमा सहभागी थिए। ✍🏻✍🏻📸📸 मार्शल राठौर