धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ

धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ

कैलाली— सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट संरक्षित तथा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित दुई जना प्रहरीको फन्दामा परेका छन्। शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्षेत्रबाट अवैध रूपमा ओसारपसार तथा कारोबार गर्न लागिएको अवस्थामा एक थान चितुवाको छालासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका व्यक्तिहरूको खानतलासी गर्दा उक्त प्रतिबन्धित वन्यजन्तुको छाला बरामद गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा कैलालीको टीकापुर नगरपालिका–३ निवासी ४७ वर्षीया सीता देवी चौधरी र बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी रहेका छन्।

वन्यजन्तुको अवैध चोरी सिकारी तथा अंगको तस्करी नियन्त्रण अभियानअन्तर्गत प्रहरीले यो सफलता हात पारेको हो। बरामद गरिएको चितुवाको छाला र पक्राउ परेका दुवै जनालाई प्रचलित वन ऐन तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।