वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३४ लाखभन्दा बढी ठगी गरेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३४ लाखभन्दा बढी ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं, १५ असोज। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१५ बस्ने काभ्रे घर भएका ३२ वर्षीय विरेन्द्र तामाङ, काठमाडौं महानगरपालिका–९ बस्ने मकवानपुर घर भएका ३८ वर्षीय कमलप्रसाद गौतम, काठमाडौं महानगरपालिका–१४ बस्ने अछाम घर भएका ३३ वर्षीय गणेशबहादुर बुढा र काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ बस्ने रामेछाप घर भएका ४४ वर्षीय बद्रीकुमार तामाङ रहेका छन्।

प्रहरीका अनुसार विरेन्द्रले बेलायत पठाइदिने भन्दै एक जना पीडितबाट ९ लाख रुपैयाँ लिएको आरोप छ। त्यस्तै, कमलले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ, गणेशले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै दुई जना पीडितबाट ३ लाख रुपैयाँ तथा बद्रीले पोल्याण्ड पठाइदिने भन्दै पाँच जना पीडितबाट २१ लाख ८९ हजार रुपैयाँ लिएको उजुरी परेको थियो।

रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले विरेन्द्रलाई ललितपुर महानगरपालिका–३ बाट, कमललाई काठमाडौं महानगरपालिका–७ बाट र गणेशलाई काठमाडौं महानगरपालिका–१३ बाट मंगलबार पक्राउ गरेको जनाएको छ। त्यस्तै, बद्रीलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ बाट बुधबार पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।