छिरिङको सफलतामा रमेश खरेल उत्साहित : सोल एसियादेखि नागोयासम्मको यात्रा स्मरण

छिरिङको सफलतामा रमेश खरेल उत्साहित : सोल एसियादेखि नागोयासम्मको यात्रा स्मरण

पूर्व डिआईजी तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी रमेश खरेलको सकारात्मक आह्वान: “खेलकुद क्षेत्रमा आमूल परिवर्तन र खेलाडीको भविष्य सुनिश्चित गरौँ”


जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद (एशियन गेम्स) मा नेपालका लागि कास्य पदक जित्न सफल खेलाडी छिरिङ (तेन्जिङ) शेर्पालाई पूर्व डिआईजी, समाजसेवी तथा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रमेश प्रसाद खरेलले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले छिरिङसहित उहाँलाई प्रशिक्षण दिने गुरुहरू, डोजो र इमानदारीपूर्वक खेलकुदमा समर्पित सम्पूर्ण टोलीको मिहिनेतको उच्च प्रशंसा गर्नुभएको छ।

आफ्नो ४० वर्ष अघिको खेल जीवनलाई स्मरण गर्दै पूर्व खेलाडी खरेलले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ एसियाली खेलकुदमा आफूले राष्ट्रिय भलिबल टोलीबाट प्रतिनिधित्व गरेको अनुभव साझा गर्नुभयो। सो समयमा नेपालले आठ वटा कास्य पदक जित्न सफल भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले तत्कालीन खेलकुद नेतृत्व र स्वर्गीय शरदचन्द्र शाहको दूरदर्शी योजना, उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण र वैज्ञानिक खेल प्रणालीको सकारात्मक योगदानलाई स्मरण गर्नुभयो।

नेपालको खेलकुदको वर्तमान अवस्थाप्रति चासो व्यक्त गर्दै उहाँले विगत चार दशकमा खेलकुद पूर्वाधार, खेलाडीको प्रोत्साहन र सही योजनाको अभावका कारण अपेक्षाकृत नतिजा आउन नसकेकोमा चिन्ता प्रकट गर्नुभयो। खेलकुद संघ-संस्थामा पारदर्शिता, इमानदारी र सही व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक हस्तक्षेपको अन्त्य गरी योग्य तथा सक्षम व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो।

वर्तमान सरकार तथा सम्बन्धित निकायहरूलाई सकारात्मक अपील गर्दै पूर्व डिआईजी खरेलले भन्नुभयो, “देशको शान र प्रतिष्ठा बढाउने खेलाडीहरूको पसिना र मिहिनेतको सही कदर हुनुपर्छ। खेलकुद क्षेत्रमा व्यापक सुधार ल्याएर खेलाडीहरूको भविष्य सुनिश्चित गरौँ, जसले गर्दा विश्वमञ्चमा नेपाली झण्डा सधैँ उच्च रहन सकोस्।”

सकारात्मक दृष्टिकोणका साथ देश र खेलकुदको हितमा समर्पित हुन आह्वान गर्दै उहाँले इमानदार खेलाडी र प्रशिक्षकहरूप्रति सम्मान प्रकट गर्नुभएको छ।