गण्डक ब्यारेजमा यस वर्षकै उच्च पानीको बहाव, सुस्ता गाउँ डुबानमा पर्दा १६५ परिवार विस्थापित

गण्डक ब्यारेजमा यस वर्षकै उच्च पानीको बहाव, सुस्ता गाउँ डुबानमा पर्दा १६५ परिवार विस्थापित

नवलपुर, पश्चिम नवलपरासीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा शनिबार दिउँसो यस वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ। दिउँसो ३ बजेको रेकर्ड अनुसार नदीमा पानीको मात्रा ३ लाख ४०० क्युसेक पुगेको छ। पुरानो संरचनाका कारण ३ लाख क्युसेकभन्दा माथिको बहावलाई जोखिमयुक्त मानिने भएकाले क्षति हुन नदिन ब्यारेजका सबै ३६ वटै ढोका खुला गरिएका छन्।

नदीको सतह ह्वात्तै बढेपछि र धार गाउँतर्फ सोझिएपछि तटीय क्षेत्रमा रहेको सुस्ता गाउँ डुबानमा परेको छ। बाढीका कारण सुस्ताका १६५ घरधुरी विस्थापित भएका छन् भने डुबानमा फसेका २१ जनालाई उद्धार टोलीले सुरक्षित स्थानमा सारेको छ। विस्थापितहरूलाई हाल सुस्ताकै आश्रयस्थलमा राखिएको छ।

सशस्त्र प्रहरीका अनुसार रातको समयमा आश्रयस्थलमै पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै विस्थापितहरूलाई नदी वारि सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ।