एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनायो वरिष्ठ नेता
काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ।
एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय अनुमोदन गरेको हो। यसअघि सचिवालय बैठकले उनलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।
भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा अघि बढाएका थिए। सचिवालयबाट गरिएको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि उनको पार्टीभित्रको औपचारिक भूमिका समेत तय भएको हो।
भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन्। राष्ट्रपति निर्वाचित भएपछि उनले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएकी थिइन्। राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेर पदबाट बाहिरिएपछि उनले पुनः एमालेको राजनीतिमा सक्रिय हुने इच्छा सार्वजनिक गर्दै पार्टी सदस्यता नवीकरण गरेकी थिइन्।
पार्टी सदस्यता नवीकरण गर्ने विषयमा भने एमालेभित्र केही समय छलफल र विवाद भएको थियो। राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालिसकेको व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा फर्किन मिल्ने वा नमिल्ने विषयमा पार्टीभित्र फरक धारणा देखिएका थिए। पछि उनको सदस्यता नवीकरणको बाटो खुलेको थियो।
भण्डारीले आफू एमालेमै रहेर राजनीतिक यात्रा अघि बढाउने बताउँदै आएकी थिइन्। पछिल्लो निर्णयसँगै उनको एमालेभित्रको राजनीतिक भूमिका औपचारिक रूपमा पुनः स्थापित भएको छ।
एमालेको विधानमा ‘वरिष्ठ नेता’ पदको व्यवस्था नरहेको विषय पनि सार्वजनिक चर्चामा आएको छ। यद्यपि, केन्द्रीय कमिटीले भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको हो।



प्रतिकृया दिनुहोस्