विपद् प्रभावितको राहतमा नागरिक लगानी कोषको साथ, प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख
काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नागरिक लगानी कोषले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी नागरिक लगानी कोषले उक्त रकम उपलब्ध गराएको हो।
सहयोग रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै सरकारी राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको नागरिक लगानी कोषले जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो।
प्राकृतिक विपद्पछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेका बेला नागरिक लगानी कोषको यो योगदानले सरकारी राहत अभियानलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्