भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

 

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ।

बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

प्रभावित नागरिकको खोज तथा उद्धार, तत्कालीन राहत, दीर्घकालीन पुनःस्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

कुल ७० लाख रुपैयाँमध्ये ५० लाख बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत२० लाख रुपैयाँ बैंकका कर्मचारीहरूको तर्फबाट सहयोग गरिएको बैंकले जनाएको छ।

सहयोग रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरणगर्नुभएको हो।

विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।

हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा आफ्ना सेवाहरू थप विस्तार गर्ने जनाएको छ।

विपद्मा पीडित नागरिकको साथमा निजी क्षेत्रको सहकार्य र सामाजिक उत्तरदायित्वको यो पहलले राहत तथा पुनःस्थापना अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।