बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग

बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग

काठमाडौँ । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। साथै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक उपकरण उपलब्ध गराइएको बैंकले जनाएको छ।

बैंकका अनुसार AI प्रविधियुक्त निगरानी ड्रोन ५ वटा, ५ KVA क्षमताका पोर्टेबल जेनेरेटर ३ वटा र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।

प्रविधियुक्त उपकरणको सहयोगले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घटनाको अनुगमन र आवश्यक समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी दुर्गम तथा प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सेवामा समस्या आउँदा पोर्टेबल जेनेरेटर तथा पावर बैंक उपयोगी हुने बैंकको विश्वास छ।

पछिल्लो विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाहरू प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग अघि बढाइएको बैंकले जनाएको छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै यसपटकको सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

बैंकले विपद्का कारण प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको जनाएको छ।