कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग

काठमाडौँ, ठाँटी खबर || कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उक्त आर्थिक सहयोग गरेको हो। विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक AI प्रविधियुक्त निगरानी ड्रोन, ५ KVA क्षमताका ३ वटा पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको जनाएको छ।

बैंकका अनुसार पछिल्लो विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग अघि बढाइएको बैंकले जनाएको छ।

विपद्का समयमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रविधिमैत्री बनाउन प्रयोग गरिने निगरानी ड्रोनले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन तथा उद्धार कार्यको समन्वयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै पोर्टेबल जेनेरेटर र पावर बैंकले विद्युत् तथा सञ्चार सेवामा समस्या भएका स्थानमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न सहयोग पुर्‍याउने बैंकको भनाइ छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै यसपटकको सहयोगले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको जनाएको छ।