एनआईसीसीआई, ईईसी नेपाल र बोशद्वारा एआई कार्यकारी कार्यशाला सम्पन्न, व्यवसायिक नेतृत्वलाई प्रविधिमैत्री बनाउन जोड

एनआईसीसीआई, ईईसी नेपाल र बोशद्वारा एआई कार्यकारी कार्यशाला सम्पन्न, व्यवसायिक नेतृत्वलाई प्रविधिमैत्री बनाउन जोड

नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई), युरोपियन इकोनोमिक चेम्बर नेपाल (ईईसी नेपाल) र बोशको संयुक्त आयोजनामा “AI for Decision Makers – An Executive Workshop for Leaders” शीर्षकको कार्यकारी कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा व्यवसायिक नेतृत्व, वरिष्ठ कार्यकारी, उद्यमी तथा नीति–निर्माताहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) को रणनीतिक प्रयोगमार्फत व्यवसाय रूपान्तरण, उत्पादकत्व अभिवृद्धि र प्रभावकारी निर्णय प्रक्रियाबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा बोशद्वारा प्रकाशित “From Hype to Strategy – AI for Decision Makers” पुस्तकको औपचारिक विमोचन गरिएको थियो। कार्यक्रममा नेपालका लागि युरोपेली संघकी राजदूत महामहिम भेरोनिक लोरेन्जो तथा जर्मनीका राजदूत महामहिम उडो युगेन भोल्जको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले नेपालमा डिजिटल नवप्रवर्तन, प्रविधि साझेदारी तथा निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिनुभयो।

बोश समूह भारतका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरु प्रसाद मुद्लापुरले एआई अब सबैका लागि पहुँचयोग्य प्रविधि बनिसकेको उल्लेख गर्दै यसको सफल प्रयोग रणनीतिक नेतृत्व र प्रभावकारी कार्यान्वयनमा निर्भर रहने बताउनुभयो। उहाँले संस्थाहरूले एआईलाई आफ्नो क्षेत्रगत विशेषज्ञता, मानवीय विवेक तथा ग्राहकप्रतिको विश्वाससँग संयोजन गर्न सके दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमअन्तर्गत आयोजित फायरसाइड च्याटमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले नेपालमा कृत्रिम बुद्धिमत्ताको सम्भावना, राष्ट्रिय विकासमा यसको योगदान तथा सरकारी नीति, योजना र कार्यक्रममार्फत एआईलाई संस्थागत रूपमा अघि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो।

नेपालका लागि बोशका कन्ट्री हेड सन्दीप कामतले एआई भविष्यको अवधारणा मात्र नभई वर्तमान व्यवसायिक आवश्यकतामा रूपान्तरण भइसकेको उल्लेख गर्दै नेतृत्व तहलाई जिम्मेवारीपूर्वक एआई अपनाई त्यसलाई संस्थाको मूल्य अभिवृद्धिमा रूपान्तरण गर्न सक्षम बनाउनु कार्यशालाको मुख्य उद्देश्य रहेको बताउनुभयो।

कार्यशालाको मुख्य प्रशिक्षण बोश इन्डियाका हेड अफ इन्टरप्राइज एआई डा. कालेब मुनिगेटीले सञ्चालन गर्नुभएको थियो। उहाँले इन्टरप्राइज एआईका नवीनतम प्रवृत्ति, लार्ज ल्याङ्ग्वेज मोडेल्स (LLMs), एआई गभर्नेन्स, लगानी रणनीति तथा सफल कार्यान्वयनका व्यावहारिक पक्षबारे प्रस्तुति दिनुभएको थियो। अन्तरक्रियात्मक अभ्यासमार्फत सहभागीहरूले आफ्नो संस्थाको दीर्घकालीन रणनीतिमा एआईलाई प्रभावकारी रूपमा समावेश गर्ने व्यावहारिक अनुभवसमेत प्राप्त गरेका थिए।

आयोजकका अनुसार यस कार्यशालाले नेपाल–भारत उद्योग वाणिज्य संघ, ईईसी नेपाल र बोशबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै नेपालको व्यवसायिक वातावरणमा नेतृत्व क्षमता विकास, डिजिटल रूपान्तरण र जिम्मेवार प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

विश्वका अग्रणी प्रविधि तथा सेवा प्रदायकमध्ये एक बोश समूहले मोबिलिटी, औद्योगिक प्रविधि, उपभोक्ता वस्तु तथा ऊर्जा एवं भवन प्रविधिका क्षेत्रमा कार्य गर्दै आएको छ। कम्पनीले “Invented for Life” भन्ने मूल दर्शनअनुसार कृत्रिम बुद्धिमत्ता, स्वचालन, डिजिटल रूपान्तरण र विद्युतीकरणलाई प्राथमिकता दिँदै विश्वभर नवीन तथा दिगो समाधान विकास गर्दै आएको जनाएको छ।