‘शिव सर्किट’ केवल सडक होइन, समृद्धिको मार्ग हो: माननीय मन्त्री डा. दिनेशचन्द्र देवकोटा
काठमाडौं । बागमती प्रदेश सरकारले धार्मिक पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने लक्ष्यसहित अघि सारेको ‘शिव सर्किट परियोजना’ लाई प्रदेशको विकास यात्राको ऐतिहासिक अभियानका रूपमा अघि बढाएको छ।
प्रदेशका १३ जिल्लामध्ये १० जिल्लामा रहेका ६४ पवित्र शिवलिङ्गलाई एउटै धार्मिक पर्यटन मार्गमा आबद्ध गर्ने यस परियोजनाले धार्मिक आस्था, सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई एकैसाथ सशक्त बनाउने विश्वास गरिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाज्यूले शिव सर्किट केवल पूर्वाधार निर्माणको योजना नभई आस्था, संस्कृति, पर्यटन र समृद्धिलाई जोड्ने दीर्घकालीन विकास मार्गचित्र भएको बताउनु भएकोछ। उहाँका अनुसार परियोजनाले सडक, पहुँच मार्ग, आवास, सूचना केन्द्र, सरसफाइ तथा अन्य पूर्वाधार विकाससँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन र साना तथा मझौला उद्यम विस्तारमा उल्लेखनीय योगदान पुर्याउनेछ।
प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टाज्यूले शिव सर्किटलाई धार्मिक पर्यटनमार्फत आर्थिक रूपान्तरणको चालक परियोजनाका रूपमा व्याख्या गर्दै हरित पूर्वाधार, सांस्कृतिक सम्पदा संरक्षण, जलवायु अनुकूल विकास र दिगो पर्यटनलाई परियोजनाको मूल आधार बनाइएको बताउनु भएकोछ। उहाँका अनुसार यसले स्थानीय समुदायको आयआर्जन वृद्धि गर्दै ग्रामीण अर्थतन्त्रलाई थप चलायमान बनाउनेछ।
महाशाखा प्रमुख सी.डी.ई. भूपेन्द्र कुमार यादवज्यूले शिव सर्किटले धार्मिक गन्तव्यहरूलाई आधुनिक पूर्वाधारसँग जोडेर बागमती प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभएकोछ ।उहाँले परियोजनाको अवधारणा विकासदेखि अध्ययन, अनुसन्धान, योजना निर्माण र प्रकाशन कार्यमा योगदान दिने सम्पूर्ण सरोकारवालाप्रति आभार पनि व्यक्त गर्नुभएकोछ ।
शिव सर्किट परियोजनाले पवित्र तीर्थस्थलहरूलाई एकीकृत गर्दै धार्मिक यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउने मात्र होइन, स्थानीय होटल, होमस्टे, कृषि, हस्तकला, यातायात तथा सेवा क्षेत्रमा समेत नयाँ आर्थिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
बागमती प्रदेश सरकारले धार्मिक पर्यटनलाई विकासको प्रमुख आधार बनाउँदै शिव सर्किटलाई भविष्यमा नेपालको नमुना धार्मिक पर्यटन मोडेलका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। परियोजनाले “आस्था, पर्यटन र समृद्धि” लाई एउटै सूत्रमा बाँध्दै प्रदेशको आर्थिक तथा सांस्कृतिक रूपान्तरणमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।



प्रतिकृया दिनुहोस्