व्यवसायीका लागि खुसीको खबर: नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटीबीच स्वास्थ्य सहकार्य, सदस्यले पाउनेछन् विशेष छुट र सुविधा

व्यवसायीका लागि खुसीको खबर: नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटीबीच स्वास्थ्य सहकार्य, सदस्यले पाउनेछन् विशेष छुट र सुविधा

काठमाडौं, व्यवसायिक समुदायको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच महत्वपूर्ण स्वास्थ्य सेवा सहकार्य सम्झौता भएको छ।

जमलस्थित चेम्बर भवनमा सम्पन्न कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

एक वर्षका लागि लागू हुने यस सम्झौताअनुसार चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारले नेपाल मेडिसिटी अस्पतालमा उपचार गर्दा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन्। अस्पतालको भर्ना तथा बाह्यरोगी सेवामा १० प्रतिशत छुटका साथै विशेष स्वास्थ्य प्याकेज, स्वास्थ्य सचेतना कार्यक्रम, बेसिक लाइफ सपोर्ट (BLS) तालिम र रक्तदान कार्यक्रम सञ्चालन गरिने सहमति भएको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले यस सहकार्यले व्यवसायी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने विश्वास व्यक्त गर्दै स्वस्थ व्यवसायिक समुदाय निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उनले स्वास्थ्य र आर्थिक विकास एकअर्काका परिपूरक विषय भएको उल्लेख गर्दै स्वस्थ जनशक्ति नै समृद्ध अर्थतन्त्रको आधार भएको धारणा राखे।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले चेम्बरसँगको सहकार्य विगतदेखिकै विश्वास र सम्बन्धको निरन्तरता भएको उल्लेख गर्दै व्यवसायिक समुदायलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्र र संस्थाहरूबीच यस्ता सहकार्य आवश्यक रहेको बताए।

स्वास्थ्य सेवा र व्यवसायिक समुदायबीचको यो साझेदारीलाई सामाजिक उत्तरदायित्व र स्वस्थ समाज निर्माणतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।


तस्बिर: नेपाल चेम्बर अफ कमर्स