वाराणसीमा हुने अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीका लागि NICCI र हाउस अफ राजकर्णिकारबीच सहकार्य
काठमाडौं, जेठ २६। नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–भारत उद्योग वाणिज्य महासंघ (NICCI) र हाउस अफ राजकर्णिकार (HOR) बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
मंगलबार NICCI सचिवालयमा आयोजित कार्यक्रममा हस्ताक्षर सम्पन्न भएको हो। यस सहमतिसँगै भारतको ऐतिहासिक तथा धार्मिक नगरी वाराणसीमा आयोजना हुन लागेको “फुड एण्ड बेभरेज तथा हस्पिटालिटी बी–टु–बी ट्रेड शो” का लागि NICCI लाई आधिकारिक इन्डस्ट्री पार्टनर को रूपमा मान्यता प्रदान गरिएको छ।
यस सहकार्यले नेपाल र भारतका खाद्य, पेय पदार्थ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायीहरूबीच नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमार्फत दुवै देशका उद्यमी, लगानीकर्ता तथा व्यवसायिक संस्थाहरूलाई प्रत्यक्ष व्यापारिक सम्पर्क विस्तार गर्ने महत्वपूर्ण मञ्च प्राप्त हुनेछ।
NICCI र हाउस अफ राजकर्णिकारबीचको यो सहकार्यलाई नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सकारात्मक कदमका रूपमा हेरिएको छ। साथै, यसले सीमापार व्यापार, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
वाराणसीमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीले दक्षिण एसियाली खाद्य तथा आतिथ्य उद्योगलाई एकै थलोमा जोड्दै क्षेत्रीय आर्थिक सहकार्यलाई समेत नयाँ गति दिने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्