नेपाल-भारत उद्योग वाणिज्य संघ र परराष्ट्र मन्त्रीबीच भेट: प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेण्डा सुझाव
काठमाडौँ, २०८३ वैशाख १७ (अप्रिल ३०, २०२६) — नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को एक प्रतिनिधिमण्डलले अध्यक्ष सुनील के.सी. को नेतृत्वमा नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्यो । उक्त भेट नवनियुक्त परराष्ट्रमन्त्रीसँग निक्कीको पहिलो औपचारिक भेट हो र यस भेटमा ठोस रूपमा द्विपक्षीय संयन्त्रमार्फत नेपाल–भारत आर्थिक सम्बन्ध प्रवर्द्धन गर्ने विषयलाई केन्द्रमा राखिएको थियो ।
निक्कीका प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष सुनील के.सी. ले गर्नुभएको थियो भने यसमा उपाध्यक्ष कुणाल कयाल, महासचिव राजन शर्मा र कोषाध्यक्ष किरण मल्ल सम्मिलित हुनुहुन्थ्यो ।
प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा एशियन पेन्ट्सका कन्ट्री डाइरेक्टर अभिमान बरारिया, नेपाल एसबीआई बैंक लिमिटेडका प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, केयर रेटिङ्ग्स नेपालका सीईओ आनन्द प्रकाश झा, डाबर नेपालका प्रतिनिधि सुमित्रा के.सी. खत्री, सांसद तथा गोल्डस्टार स्ट्राइड लिमिटेडकी कार्यकारी निर्देशक विदुषी राणा रहनुभएको थियो भने संघ सचिवालयबाट निर्देशक मार्शल राठौर र कार्यकारी सचिव खुसी श्रेष्ठ सम्मिलित हुनुहुन्थ्यो ।
निक्कीका अध्यक्ष सुनील के.सी. ले मन्त्री खनाललाई उनको नियुक्तिमा बधाई दिँदै नेपालको परराष्ट्र नीति तथा आर्थिक कूटनीतिको सञ्चालनमा उनको नेतृत्वप्रति विश्वास व्यक्त गर्नुभयो । उहाँले सन् १९९३ देखि एक प्रमुख द्विपक्षीय उद्योग वाणिज्य संघको रूपमा निक्कीले विगतमा र वर्तमानमा निभाउँदै आएको भूमिकाबारे जानकारी गराउनुभयो र नेपाल–भारत व्यापार सन्धि तथा नेपाल–भारत पारवहन सन्धिको विभिन्न नवीकरणका चरणहरूमा निक्कीको योगदानको बारेमा उल्लेख गर्नुभयो ।
प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको समयमा नेपाल–भारत वाणिज्य तथा लगानी प्रवर्द्धनार्थ गरिनुपर्ने विषयमा द्विपक्षीय एजेन्डामा समावेश गर्नका लागि प्रस्तावहरू पेश गर्यो । यसमध्ये प्रमुख थियो — भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजना गरिने सीईओ राउण्डटेबल, जसको उद्देश्य नेपाली व्यापारिक नेतृत्वलाई भारतका प्रमुख व्यावसायिक घरानाहरूमा प्रमुख कार्यकारी तथा सम्भावित लगानीकर्ताहरूसँग जोड्नु र सम्भावित परियोजना तथा लगानीका विषयमा छलफल गर्नु रहेको जानकारी गराइयो ।

प्रतिनिधिमण्डलले भारतमा नेपालको कूटनीतिक उपस्थिति विस्तार गर्न मुम्बई र बैङ्गलोर लगायतका प्रमुख स्थानहरूमा महावाणिज्यदूत कार्यालय वा व्यापार प्रतिनिधि कार्यालय स्थापना गर्ने प्रस्ताव गर्यो । यो सिफारिस वर्तमान व्यापार तथ्याङ्कमा आधारित छ — नेपालको निर्यातको करिब ८०% भारततर्फ जान्छ, ६०% आयात भारतबाट हुन्छ र करिब ८५% तेस्रो देशको व्यापार कोलकाता, हल्दिया र विशाखापट्टनम लगायतका भारतीय बन्दरगाहमार्फत हुन्छ । निक्कीले परराष्ट्र मन्त्रालय, नेपाल सरकार र दुवै देशका सम्बद्ध मन्त्रालय तथा निजी क्षेत्रसँगको नजिक समन्वयमा नेपाल–भारत साझेदारी शिखर सम्मेलन (नेपाल–इण्डिया पार्टनरशिप समिट) आयोजना गर्ने लक्ष्य पनि राखेको पनि मन्त्री खनाललाई जानकारी गरायो ।
प्रस्तावहरूमा निजी क्षेत्रको उल्लेखनीय सहभागिता सहित समर्पित आर्थिक कूटनीतिक संयन्त्रको सञ्चालन — निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धनका प्रचार र पर्यटन ब्रान्डिङमा केन्द्रित आवश्यक लगानी सहजीकरण तथा कूटनीतिक नियोगहरूसँग समन्वयका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत विदेशी लगानीकर्ता परिषद् गठनको विषय पनि प्रस्ताव गरियो ।
निक्कीले परराष्ट्रमन्त्रीलाई लगानी प्रवर्द्धन, व्यापार सहजीकरण र पर्यटन प्रचारका लागि नयाँ दिल्लीमा सम्पर्क कार्यालय स्थापना गर्ने आफ्नो योजनाबारे जानकारी दिँदै नेपाल सरकार र नयाँ दिल्लीस्थित नेपाली दूतावासको समर्थन र सहयोग आवश्यक रहने विषय प्रस्ताव गर्यो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले निक्कीले प्रस्तुत गरेको प्रस्तावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै नेपाल–भारत आर्थिक सहयोगमा निक्कीको निरन्तर योगदानप्रति सराहना व्यक्त गर्नुभयो । मन्त्री खनालले लगानीकर्ता परिषद् र भारतमा कूटनीतिक उपस्थिति विस्तारको विचारलाई अत्यन्त सकारात्मक रहेको भन्दै उक्त प्रस्तावको सराहना गर्नुभयो । दुवै पक्षले प्रधानमन्त्रीको भारत भ्रमण अघि मन्त्रालय र निजी क्षेत्रबीच घनिष्ठ समन्वयप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो ।



प्रतिकृया दिनुहोस्