नेपाल–भारत उद्योग वाणिज्य संघ र एनबीआईले नेपाल बिजनेस समिट आयोजना गर्दै

नेपाल–भारत उद्योग वाणिज्य संघ र एनबीआईले नेपाल बिजनेस समिट आयोजना गर्दै

वैशाख १६ गते, काठमाडौँ, नेपाल बिजनेस समिटको दोस्रो संस्करण यही जेठ ४ गते काठमाडौँमा आयोजना हुने भएको छ । सम्मेलनको पहिलो संस्करण आयोजना गरेको नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) बीच सम्मेलन आयोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का तर्फबाट उपाध्यक्ष कुणाल केयाल र नेपाल बिजनेस इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । निर्यात, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा, एआई, आईटी, फिन्टेक र सूचना प्रविधि, स्टार्टअप, एसएमई र समावेशी आर्थिक उन्नयनको मुख्य विषय रहेको नेपाल बिजनेस समिटमा निक्कीले सह–आयोजकका रूपमा साझेदारी गर्दै निर्यात, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विषयलाई सम्मेलनमा उठान गर्ने निक्कीका उपाध्यक्ष कुणाल केयालले बताउनुभयो ।

आफूहरूले नेपालको आयात र निर्यातबीच सन्तुलन खोजिरहेको उपाध्यक्ष केयालको भनाइ छ । त्यसैगरी एनबीआईका कार्यकारी अध्यक्ष गैरेले नेपाल र भारतबीचको बढ्दो व्यापार घाटा कम गर्न र नेपालबाट भारतमा निर्यात हुन सक्ने व्यवसायको विषयमा सम्मेलनमा जोडदार रूपमा उठाउने र निर्वाध रूपमा नेपालमा बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो सेवा प्रदान गर्न सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलन आयोजना सम्बन्धी कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का तर्फबाट निर्देशक मार्शल राठौर, प्रबन्धक निमेष नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटका तर्फबाट निर्देशक नरेश प्रसाद श्रेष्ठ, कार्यक्रम निर्देशक भुवन उप्रेती लगायतको उपस्थिति रहेको थियो । यही जेठ ४ गते आयोजना हुने नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा नेपालभरका ४०० जना उद्यमीहरूले सहभागिता जनाउने जानकारी गराइएको छ ।