कुमारी बैंक लिमिटेडले मनायो २५ औं वार्षिकोत्सव
कुमारी बैंक लिमिटेड विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरूको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ ।
कुमारी बैंकको २५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुर लगायत उपत्यकाबाहिरका सम्पूर्ण प्रदेशहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । यसले स्थानीय स्तरमा रगत बैंकको आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य राखेको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’ पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पहिचान प्रस्तुत गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्याएको छ । विभिन्न सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यस्थलमा समावेशिता र सम्मानलाई बढावा दिएको छ । यस पहलमार्फत, बैंकले ‘सबैका लागि सधैंका लागि’ भन्ने मूल उद्देश्य भित्र रही आन्तरिक एकताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामाजिक कार्यलाई निरन्तरता दिएको छ ।
यसका साथै बैंकले आफ्ना सम्पूर्ण शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू देशैभरि वर्षैभरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ । यस कार्यक्रममार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको जीवन स्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरूबाट निरन्तर प्रयास गर्ने जनाएको छ । साथै, बैंकले आफ्नो रजत जयन्तीको अवसरमा ‘सिल्भर सेभिङ्स’ बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरूले बचत खातामै मुद्दती खाताको जस्तै ब्याजदर पाउनेछन् ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्नो देशभर रहेका २०६ शाखा सञ्जाल, ३०२ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना तीन लाखभन्दा बढी ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।


प्रतिकृया दिनुहोस्