परराष्ट्र विभाग प्रमुखदेखि मन्त्रीसम्म: शिशिर खनालको हातमा देशको कुटनीतिक साँचो!
काठमाडौं, १३ चैत । नेपालको कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय छवि सुधार्ने महत्त्वपूर्ण जिम्मेवारीसहित बौद्धिक नेता शिशिर खनालले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री खनाल सिधै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारमा परराष्ट्र विभाग प्रमुखकै जिम्मेवारी सम्हालिसकेका खनाललाई सोही मन्त्रालयको नेतृत्व सुम्पिनुलाई राजनीतिक वृत्तमा ‘सही ठाउँमा सही व्यक्ति’ (Right Man in Right Place) को रूपमा हेरिएको छ।
शिक्षा क्षेत्रमा सफल सावित भइसकेका र अन्तर्राष्ट्रिय सम्बन्धलाई नजिकबाट बुझेका खनालको आगमनले नेपालको परराष्ट्र नीतिमा थप परिपक्वता र सन्तुलन आउने विश्वास गरिएको छ।
पदभार ग्रहणका क्रममा मन्त्री खनालले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी मुलुक र विश्व समुदायसँगको सम्बन्धलाई थप सुमधुर बनाउने संकेत दिएका छन्। उनले भने—
“परराष्ट्र मन्त्रालय केवल औपचारिकतामा मात्र सीमित हुनु हुँदैन। हामीले आर्थिक कुटनीति र श्रम कुटनीतिलाई प्राथमिकतामा राखेर विदेशमा रहेका नेपालीहरूको हित र देशको समृद्धिका लागि काम गर्नेछौँ।”
पछिल्लो समय बदलिँदो विश्व परिवेशमा नेपालले सन्तुलित र तटस्थ परराष्ट्र नीति अपनाउनुपर्ने चुनौती छ। यस्तो अवस्थामा एक अध्ययनशील र गतिशील मन्त्रीको रूपमा शिशिर खनालको इन्ट्रीले आम नागरिकमा नयाँ आशा जगाएको छ। सामाजिक सञ्जालमा उनलाई ‘नेपालको नयाँ कुटनीतिक चेहरा’ भन्दै शुभकामनाको ओइरो लागेको छ।



प्रतिकृया दिनुहोस्