प्रहरी महानिरीक्षक कार्कीबाट महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ

प्रहरी महानिरीक्षक कार्कीबाट महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ

काठमाडौं, १८ माघ
नेपाल प्रहरीको महिला भलिबल टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि माल्दिभ्स प्रस्थान गरेको छ।
मित्रराष्ट्र माल्दिभ्समा माघ २१ देखि २७ गतेसम्म हुने काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुन लागेको टोलीलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुभकामना सहित विदाइ गर्नुभएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका महानिरीक्षक कार्कीले टोलीलाई औपचारिक विदाइ गर्नुभयो।
उक्त टोलीमा १४ जना खेलाडी र ४ जना अफिसियल सहभागी छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले

“यो टोलीले नेपाल प्रहरी मात्र होइन, सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गरिरहेको छ,”
भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तर्राष्ट्रिय स्तरमा देश र संगठनको गौरव बढाउन खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


तस्बिर : नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, जनसम्पर्क तथा मिडिया समन्वय शाखा !