करिब २० करोडको कारोबारसहित चौथो गैँडाकोट महोत्सव सफलतापूर्वक सम्पन्न
नवलपुर, गैँडाकोट – नारायणी नदीको रमणीय किनारमा आयोजित चौथो गैँडाकोट महोत्सव आज सफलतापूर्वक सम्पन्न भयो। करिब २० करोड रुपैयाँको कारोबार र दुई लाख दर्शकको सहभागितासहित यस महोत्सवले स्थानीय व्यवसाय, पर्यटन र सांस्कृतिक क्षेत्रलाई नयाँ उचाइ दिएको छ।
जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव तेजनारायण पाण्डेले भने, “आर्थिक मन्दिका बाबजुद महोत्सव सफल भयो। प्रारम्भिक तथ्याङ्कअनुसार करिब २० करोड रुपैयाँको कारोबार भएको छ, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पुर्याएको छ।”
महोत्सवका मूल संयोजक छवि कँडेलले बताए, “गैँडाकोट जस्तो कान्छो जिल्लामा पनि कृषि र औद्योगिक उत्पादनलाई प्रवर्द्धन गर्ने अवसर मिल्नु ठूलो उपलब्धि हो। किसान र उद्यमीहरूलाई हौसला मिल्ने काम भएको छ।”
गत पुस २५ देखि सुरु भएको १६-दिने महोत्सवमा स्थानीय कृषि उत्पादन जस्तै बन्दा, गाँजर, मूला, काउली, ब्रोकाउली, भेँडे खुर्सानी निःशुल्क प्रदर्शन गरिएको थियो। साथै २५० भन्दा बढी स्टलमा अटोमोबाइल, रेष्टुरेन्ट, घरायसी र उपभोग्य वस्तुहरू राखिएको थियो।
महोत्सवमा स्थानीय अदुवाको जाम लगायतका उत्पादनको प्रचारप्रसार पनि गरिएको थियो, जसले नवलपुरको उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने काम गरेको आयोजक दीपक सापकोटाले बताए।
समापन समारोहमा १७ उत्कृष्ट शोभायात्रा समूह, धार्मिक, सामाजिक, शैक्षिक र खेलकुद समूहहरूलाई पुरस्कृत गरियो। यसैगरी, राष्ट्रिय भजन प्रतियोगिता र सांगीतिक प्रस्तुतीहरूले महोत्सवको रंगीन वातावरण थप आकर्षक बनायो।
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले महोत्सवको महत्वबारे भने, “स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा महोत्सवले ठूलो योगदान पुर्याएको छ। यसले नवलपुरको सामाजिक र सांस्कृतिक पहिचानलाई पनि नयाँ ऊर्जा दिएको छ।”
चौथो गैँडाकोट महोत्सवले स्थानीय व्यवसाय, कला, संस्कृति र पर्यटनलाई समृद्ध बनाउन ठोस आधार तयार गरेको छ र आगामी वर्षमा अझ ठूलो उत्साह र सहभागिताको अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्