सुन्दर परिवारको आत्मा : बा–आमा र सन्तानबीचको मौन प्रेम – दामोदर भट्ट, सि.ई.ओ. मिडिया ठाँटी प्रा.लि.

सुन्दर परिवारको आत्मा : बा–आमा र सन्तानबीचको मौन प्रेम – दामोदर भट्ट, सि.ई.ओ. मिडिया ठाँटी प्रा.लि.

परिवार केवल एउटै छानामुनि बस्ने मानिसहरूको समूह होइन,
परिवार त संस्कार, सहनशीलता, माया र आपसी स्विकारोक्तिको सुन्दर विद्यालय हो।
यही विद्यालयले असल छोरा–छोरी जन्माउँछ,
र यही छोरा–छोरीले परिवारलाई महान बनाउँछन्।

सामान्यतया भनिन्छ—
बा–आमाको नजरबाट गिरेका छोरा–छोरीलाई बा–आमाले सजिलै स्विकार गर्न सक्छन्।
किनभने बा–आमाको माया निस्वार्थ हुन्छ,
त्यहाँ अहंकार हुँदैन, शर्त हुँदैन,
केवल ममता हुन्छ।

तर प्रश्न यहाँ गहिरो छ—
जब छोरा–छोरीको नजरबाट बा–आमा गिर्छन्, तब के हुन्छ?

त्यो अवस्थामा सबै छोरा–छोरीसँग
आफ्ना बा–आमालाई स्विकार गर्ने,
उठाउने र सम्मानका साथ स्थान दिने
तागत, क्षमता र सोच हुँदैन।

साँचो अर्थमा असल छोरा–छोरी
उनीहरू नै हुन्,
जो आफ्ना नजरबाट गिरेका बा–आमालाई
मौन रूपमा स्विकार गर्छन्,
कुनै प्रचार बिना, कुनै गुनासो बिना,
माया र कर्तव्यका साथ फेरि उठाउँछन्।

यस्ता छोरा–छोरी
उच्च स्तरको सोच भएका हुन्छन्।
उनीहरू बुझ्छन्—
बा–आमा गल्ती गर्न सक्छन्, कमजोर हुन सक्छन्,
तर तिनै हातले हामीलाई हिँड्न सिकाएका थिए,
तिनै आँखाले हामीलाई सपना देखाएका थिए।

यस्ता सन्तान बिरलै जन्मिन्छन्।
उनीहरू महान यसकारण बन्छन् कि
उनीहरूले केवल अधिकार होइन,
कर्तव्यलाई पनि आत्मसात गरेका हुन्छन्।

यस्तो क्षमता तब मात्रै आउँछ
जब परिवारबाटै
असल संस्कार, सही ज्ञान
र जीवनप्रति सकारात्मक दृष्टिकोण पाइएको हुन्छ।

कहिलेकाहीँ
परिवारबाट नपाएको शिक्षा
समाज, साथीभाइ र संगतले दिन सक्छ।
तर त्यो पनि
आफू बसेको समाज, संगत
र आफ्नै चेतनामा निर्भर हुन्छ।

अन्ततः,
सुदृढ परिवार त्यो हो
जहाँ दोषभन्दा ठूलो माया हुन्छ,
अहंकारभन्दा ठूलो क्षमा हुन्छ,
र सम्बन्धभन्दा माथि मानवता हुन्छ।

असल छोरा–छोरी नै सुन्दर परिवारको आधार हुन्,
र सुन्दर परिवार नै सभ्य समाजको पहिचान हो।

(लेखक दामोदर भट्ट मिडिया ठाँटी प्रा.लि. को प्रमुख कार्यकारी अधिकृत (CEO)हुनुहुन्छ !