सानो जिम्मेवारीलाई सधैं अर्थपूर्ण बनाउन सफल भएका युवा अभियन्ता राजेन्द्र

सानो जिम्मेवारीलाई सधैं अर्थपूर्ण बनाउन सफल भएका युवा अभियन्ता राजेन्द्र

काठमाडौं, ३ माघ । कर्णाली प्रदेशका युवामाझ आशा,नेतृत्व र सकारात्मक परिवर्तनको प्रतीकका रूपमा परिचित युवा अभियन्ता राजेन्द्र अधिकारी पछिल्ला वर्षहरूमा साना-साना जिम्मेवारीलाई पनि अर्थपूर्ण बनाउँदै अगाडि बढिरहेका छन् । अवसर ठूला वा साना जे भए पनि,त्यसलाई समाज परिवर्तनको माध्यम बनाउने उनको सोच र अभ्यासले उनलाई फरक पहिचान दिलाएको छ ।
दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा जन्मिएका राजेन्द्र अधिकारी युवावस्थादेखि नै सामाजिक अभियान, युवा सशक्तीकरण र नेतृत्व विकासमा सक्रिय रहँदै आएका छन् । विद्यार्थी राजनीतिबाट सामाजिक अभियानसम्मको यात्रामा उनले ‘पद होइन, प्रभाव महत्त्वपूर्ण हुन्छ’ भन्ने मान्यतालाई आत्मसात् गरेका छन् । यही सोचका कारण उनले पाएका सीमित जिम्मेवारीहरू पनि परिणाममुखी बनेका छन् ।
स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्म युवाका सवाल उठाउने क्रममा राजेन्द्रले प्रशिक्षण,संवाद,अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । राष्ट्रिय युवा परिषद्, प्रदेश युवा क्लब सन्जाल ,स्थानीय युवा परिषद्, नागरिक समाज तथा विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा उनले सयौँ युवालाई नेतृत्व, लोकतान्त्रिक अभ्यास र नागरिक जिम्मेवारीबारे सचेत गराएका छन् । विशेषगरी ‘मक चाइल्ड पार्लियामेन्ट’ र ‘मक यूथ पार्लियामेन्ट’ अभ्यासमार्फत बालबालिका र युवामा लोकतान्त्रिक संस्कार विकास गर्न उनको योगदान उल्लेखनीय मानिन्छ ।
राजेन्द्र अधिकारीको अर्को महत्वपूर्ण पक्ष भनेको ग्रामीण तथा पिछडिएका क्षेत्रका युवालाई प्राथमिकतामा राख्नु हो । कर्णालीका दुर्गम बस्तीहरूमा पुगेर उनले युवालाई सपना देख्न मात्र होइन,त्यसलाई योजनामा रूपान्तरण गर्न पनि उत्प्रेरित गरेका छन् । ‘ड्रिम बिग प्रोजेक्ट नेपाल’ मार्फत उनले युवालाई आत्मविश्वास, सीप र सामाजिक उत्तरदायित्वतर्फ अग्रसर गराइरहेका छन् ।
सानो जिम्मेवारीलाई पनि गम्भीरतापूर्वक लिने उनको कार्यशैलीले विभिन्न निकायको विश्वास जितेको छ । कक्षाको मनिटर देखि मन्त्रालयस्तरको जिम्मेवारी, स्थानीय युवा परिषद् देखि राष्ट्रिय युवा परिषद्को प्रशिक्षकको नेतृत्वसम्म,जहाँ पुगे पनि उनले पारदर्शिता,समयपालन र परिणामलाई प्राथमिकता दिएका छन् । यही कारणले उनलाई युवा नेतृत्वको भरोसायोग्य अनुहारका रूपमा हेरिन थालिएको छ।
समाजमा बढ्दो निराशा,बेरोजगारी र युवाको विदेश पलायनजस्ता चुनौतीबीच अधिकारीले ‘यहाँ पनि सम्भावना छ’ भन्ने सन्देश फैलाइरहेका छन् । उनका कार्यक्रमहरू केवल भाषणमा सीमित नभई व्यवहारिक अभ्यासमा आधारित हुने भएकाले युवामा सकारात्मक प्रभाव परेको देखिन्छ ।

जेन-जी आन्दोलन पश्चात् उनी ३ महिना गृह मन्त्रालयमा जेन-जी प्रतिनिधिको रुपमा रहँदा धेरै शहिद परिवार र घाईते परिवारको पिडामा मलम लगाउन सफल भएका थिए।उनको कामको चर्चा र ईमानदारिता बारे तपाईं आजभोलि गृह मन्त्रालय पुग्दा पनि अधिकांश कर्मचारीले सुनाउने गर्दछन् । मंसिर २८ गतेदेखि भने राजेन्द्र नेपाल सरकारका वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईको प्रमुख स्वकीय सचिबको रुपमा कार्यरत छन् ।

सानो जिम्मेवारीलाई अर्थपूर्ण बनाउँदै ठूला सपना देखिरहेका युवा अभियन्ता राजेन्द्र अधिकारी आज कर्णाली मात्र होइन,राष्ट्रिय स्तरमै प्रेरणाका पात्र बन्दै गएका छन् । उनीजस्ता युवाको सक्रियताले भविष्यमा देशको नेतृत्व जिम्मेवार,उत्तरदायी र जनमुखी हुने विश्वास धेरैले व्यक्त गर्न थालेका छन् ।


(स्रोत-राज कार्की सुटमालाका संचालक)