पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला: युवाको नयाँ सोच प्रदर्शनमा आउने

पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला: युवाको नयाँ सोच प्रदर्शनमा आउने

कास्की, पोखरा – पोखरामा सूचना–प्रविधि (IT) र स्टार्टअप व्यवसाय प्रदर्शन हुने भएको छ। नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी कम गर्ने उद्देश्यले आयोजना हुने मेलामा युवा उद्यमीहरूले तयार पारेका प्रविधि, व्यवसाय र सेवाहरू प्रदर्शन हुनेछन्।


नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद् ले पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्यमा आगामी माघको अन्तिम साता प्रदर्शनी गर्नेछ।

गण्डकी प्रदेशभित्रका छानिएका १५ वटा स्टार्टअप, वस्तु वा सेवामा आधारित नवप्रवर्तनको प्रदर्शनी हुनेछ।

मेलामा प्रतिस्पर्धात्मक संरचना रहनेछ। पहिलो स्थान प्राप्त गर्ने उद्यमीले रु ४० हजार, दोस्रो स्थानले रु ३० हजार, र तेस्रो स्थानले रु २० हजारपुरस्कार पाउनेछन्।

कसले आवेदन दिन सक्ने?

  • उमेर ४० वर्ष नाघेको नहुने

  • उद्योग/व्यवसाय १० वर्षभन्दा बढी पुरानो नहुने

  • सरकारी कार्यालयमा दर्ता भएको

  • वार्षिक कारोबार रु १५ करोडभन्दा बढी नभएको

भविष्यका योजना
पोखराबाट सुरु हुने यो प्रदर्शनी देशभरका सातवटै प्रदेशमा आयोजना गरिनेछ। अन्ततः काठमाडौँमा हुने बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा प्रदेशस्तरका उत्कृष्ट उद्यमीहरू सहभागी हुनेछन्।

अभिमुखीकरण र तयारी
मेलाको तयारीका लागि युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ र पर्वतका उद्योगी/व्यवसायीको सहभागिता रहेको कार्यक्रममा उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदी ले नवप्रवर्तनमार्फत युवा पलायन रोक्न र रोजगारी सिर्जना गर्न मेलाको महत्व औंल्याए।

सृजनात्मक व्यवसायमा युवालाई सहभागी गराउने लक्ष्य
युवा परिषद्का उपसचिव तारापति खरेल ले व्यक्तिगत र निजी क्षेत्रका युवालाई सृजनात्मक व्यवसायमा सहभागी गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए।

पोखरा महानगरपालिकाले पनि यस क्षेत्रमा युवालाई प्रोत्साहित गर्न ठोस कदम चालिरहेको छ। यस मेलाले नयाँ सोच र नवप्रवर्तनको विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।