निक्की र भक्तपुर उद्योग वाणिज्य संघ बिच व्यापार, पारवहन र पर्यटन सहकार्यबारे छलफल संम्पन्न

निक्की र भक्तपुर उद्योग वाणिज्य संघ बिच व्यापार,  पारवहन र पर्यटन सहकार्यबारे छलफल संम्पन्न

काठमाडौं, ४ जनवरी २०२६ – नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) बीच व्यापार, पारवहन सहजीकरण र पर्यटन प्रवद्र्धनमा सहकार्यका नयाँ सम्भावना खोज्न अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ। बैठकको मुख्य उद्देश्य नेपालको आर्थिक वृद्धि र उद्यमशीलता विकासमा टेवा पुर्‍याउनु रहेको थियो।


भक्तपुरको सांस्कृतिक र आर्थिक विशेषतामा फोकस

निक्की प्रतिनिधिमण्डललाई स्वागत गर्दै बीसीसीआईकी अध्यक्ष रोशनी मैया धौबञ्जा ले भक्तपुरको आर्थिक तथा सांस्कृतिक विशेषताबारे जानकारी गराइन्। उनले भने,

“बीसीसीआईले कृषि, हस्तकला र पर्यटन प्रवद्र्धनमा सक्रिय रूपमा काम गरिरहेको छ। यी क्षेत्रसँगै हामी परम्परागत नेपाली उत्पादनहरू भदगाउँले टोपी तथा भक्तपुरको प्रसिद्ध दही ‘जुजु धौ’ प्रवद्र्धनमा लागिरहेका छौँ।”

धौबञ्जाले भक्तपुरलाई सांस्कृतिक र धार्मिक सम्पदाले सम्पन्न परम्परागत सहरको रूपमा प्रस्तुत गर्दै पर्यटनमा आधारित विकासको ठूलो सम्भावना रहेको बताइन्।


निक्कीको सहकार्य र द्विपक्षीय व्यापार सहयोग

निक्कीका अध्यक्ष सुनील केसी ले द्विपक्षीय व्यापार सहजीकरणमा निक्कीको भूमिका र निर्यातसम्बन्धी सहयोग आवश्यक रहेकोमा जोड दिए। उनले भने,

“भारत नेपालका लागि निर्यातको मुख्य प्रवेशद्वार मात्र होइन, नेपाली वस्तु तथा सेवाहरूको सबैभन्दा ठूलो बजार पनि हो। निर्यातमा समस्या परेमा निक्कीसँग परामर्श लिन सक्नुहुन्छ। निरन्तर संवाद र एक-अर्काका प्रयासलाई पूरक बनाउँदै हामी नेपाल प्रवद्र्धन गर्ने साझा लक्ष्यतर्फ सँगै काम गर्न सक्छौँ।”


हस्तकला निर्यात र पर्यटन प्रवद्र्धनमा सहयोगको अपेक्षा

अन्तरक्रियाका क्रममा बीसीसीआईका सदस्यहरूले हस्तकला निर्यात र भारतबाट विभिन्न वस्तु आयातमा भन्सार प्रक्रिया लगायत व्यापार र पारवहन सहजीकरणमा निक्कीको सहयोगको अपेक्षा व्यक्त गरे। साथै, चाँगुनारायण र डोलेश्वर महादेव जस्ता ऐतिहासिक मन्दिरहरू र सम्पदास्थलको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न अनुरोध गरे।

निक्कीका उपाध्यक्ष कुनाल कयाल ले सहकार्यप्रति निक्कीको प्रतिबद्धता व्यक्त गर्दै भने,

“बीसीसीआईको क्षमता अभिवृद्धि गर्न तथा भक्तपुरका उत्पादन र पर्यटन सम्भावनाको प्रवद्र्धनमा सहयोग गर्न निक्की हातेमालो गर्न तयार छ।”

निक्कीका महासचिव राजन शर्मा ले पनि व्यापार र पारवहनसम्बन्धी विषयमा तालिममार्फत प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।


साझा सहकार्य र भविष्यका योजना

बैठकको अन्त्यमा दुवै संघले व्यापार, पारवहन र पर्यटनसम्बन्धी पहलहरूमा नजिकबाट सहकार्य गर्ने सहमति जनाए। यस सहकार्यलाई नेपालको दिगो आर्थिक वृद्धि र उद्यमशीलता विकासको प्रमुख आधारका रूपमा स्वीकार गरिएको छ।


भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) सन् १९६७ मा स्थापना भएको, भक्तपुरमा उद्योग तथा वाणिज्य क्षेत्रको सामूहिक हित संरक्षण र प्रवद्र्धनमा समर्पित संस्था हो। बीसीसीआईले स्थानीय व्यवसायी समुदायको स्वतन्त्र आवाजको रूपमा उद्योग वाणिज्य महासंघसँग आबद्ध भई काम गर्दै आएको छ।