इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति साउदी अरेबियाबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति साउदी अरेबियाबाट पक्राउ

काठमाडौं, २३ भदौ

ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका दिपक सारू थापा भन्ने खिम बहादुर थापा पक्राउ परेका छन् । एनसिबि रियाद साउदी अरेबियाकोसमन्वयमा साउदी अरेबियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । 

दिपक सार थापा भन्ने खिम बहादुर थापा समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८ साउन २० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।