“नारीको अदृश्य संघर्ष : भूमिकाको भारले थिचिएको सपना” – दिपा वस्ती पाण्डे

“नारीको अदृश्य संघर्ष : भूमिकाको भारले थिचिएको सपना” – दिपा वस्ती पाण्डे

काठमाडौं । नारीको जीवन आफैँमा एउटा अद्भुत यात्रा हो—यात्रा जसले कति पीडा, कति जिम्मेवारी र कति नदेखिएका सपना बोकेको हुन्छ, तर बाहिरबाट प्रायः कसैले देख्दैन।

कहिले एक छोरीको भूमिकामा परिवारको आशा–अपेक्षाको भारी काँधमा उठाउनु पर्ने, त कहिले बुहारी बनेर नयाँ घर–परिवारको जिम्मेवारी सम्हाल्नु पर्ने। यी भूमिका निभाउँदै जाँदा आफ्नो मनभित्र कुँदिएका थुप्रै इच्छा, महत्वकांक्षा र सपनाहरु कहीँ भित्रै दबिएर बस्न बाध्य हुन्छन्।

धेरै महिलाका मनमा कमाउने रहर, आफ्नै तरिकाले रमाउने इच्छा हुन्छ। जीवन एकचोटि मात्रै आउँछ, आफैले जस्तै बाँचूँ भन्ने चाहना हुन्छ। तर सन्तानको मायाले, परिवारको कर्तव्यले, समाजको अनिवार्य भूमिकाले– त्यो चाहना प्रायः कति समयसम्म रोकिन्छ, कहिलेकाहीँ त कहिल्यै पुरा नहुने सपना बन्छ।

“भोलि राम्रो दिन आउला” भन्ने आशामा पर्खँदै–पर्खँदै कहिलेकाहीँ पूरा जीवन पर्खाइमै बित्न थाल्छ।
न छोरी हुँदा पूर्ण स्वतन्त्रता, न बुहारी हुँदा आफ्नो समय, न सासू हुँदा आराम…
नारीको यो अनौठो रूप साँच्चै अचम्म!

जीवन त खुशी सञ्चय गर्ने हो तर अवसर, समय र परिस्थितिले कहिल्यै सहजै साथ दिदैन।
‘रिल्याक्स’ हुने दिन कहिले आउला?
यो प्रश्न धेरै महिलाले मनमनै सोधिरहे पनि जवाफ अझै अधुरो छ।

✍🏻✍🏻 दिपा वस्ती पाण्डे