युवा, कर्म र राष्ट्रप्रेम: नेपालको भविष्य निर्माणमा सक्रिय सहभागिता

युवा, कर्म र राष्ट्रप्रेम: नेपालको भविष्य निर्माणमा सक्रिय सहभागिता

नेपालले विगतका चुनौती र अनुभवबाट सिक्दै अघि बढिरहेको छ। कुनै बेला हाम्रो समाजमा “एक घर, एक सहकारी” भन्ने नारा थियो, जुन आजको सन्दर्भमा “घर–घर नेता” जस्ता अवधारणामा रूपान्तरित भएको छ। तर यो अवस्था सँधै सकारात्मक होइन। राष्ट्र, समाज र विश्वपरिबेशप्रति प्रत्येक नागरिक सचेत हुनु अत्यन्त आवश्यक छ।

युवा पुस्ताले जेन्जी आन्दोलनपछि देखाएको सक्रियता र समाजप्रतिको चासो अत्यन्त उत्साहजनक छ। आफ्नो कर्म र उत्तरदायित्वलाई बुझ्दै, परिवार, समाज र राष्ट्रप्रति योगदान दिनु आजको युवा पुस्ताको ठूलो गुण हो। यसमा कुनै पनि व्यक्ति तत्काल अगुवा हुनैपर्छ भन्ने होइन। नेतृत्वको विकल्पका रूपमा, अनुभवी नागरिक वा मार्गदर्शकको विचार र मार्गदर्शनलाई स्वीकार गर्दै सहयोग गर्न सक्नु पनि ठूलो योगदान हो।

नेपालको राजनीतिक अवस्था जटिल छ, तर युवाले राष्ट्रिय विकास, सामाजिक न्याय र विश्वपरिवेशसँगको संवेदनशीलतालाई बुझ्नु अहिलेको आवश्यकता हो। आफ्नो कर्ममा निरन्तरता, समयको महत्व र परिस्थितिको मूल्याङ्कन गर्दै योगदान दिनु नै राष्ट्रप्रेमको वास्तविक रूप हो।

आजको युवा पुस्ताले सकारात्मक सोच, कर्मशीलता र राष्ट्रप्रेमको उदाहरण प्रस्तुत गर्दैछ। आफ्नो सानो–ठूलो प्रयासमार्फत समाजमा परिवर्तन ल्याउन सकिन्छ। यो केवल व्यक्तिगत उपलब्धि होइन, राष्ट्र र समाजप्रति जिम्मेवारीको उदाहरण हो।

समाजमा अगुवा हुनु मात्र लक्ष्य होइन; असल विचार, सक्रिय सहभागिता र आफ्नो कर्ममा निरन्तरता नै स्थायी परिवर्तन ल्याउने साधन हुन्। तयार र जिम्मेवार युवा राष्ट्रको भविष्यमा मूलाधार बन्न सक्छन्।

दामोदर भट्ट
प्रमुख कार्यकारी अधिकृत
मिडिया ठाँटी प्रा. लि., बालाजु, काठमाडौं, नेपाल !