चलचित्र विधेयक संशोधनसहित अघि बढ्ने निर्णय, सञ्चारमन्त्री खरेलको स्पष्टता
काठमाडौँ, १६ मङ्सिर – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज महत्वपूर्ण निर्णय भएको छ। सरकारले प्रस्तुत गरेको चलचित्र विधेयक अब संशोधनसहित अघि बढ्ने निर्णयमा सहमति जुटेको हो। बैठकमा सरकार, सांसदहरु र चलचित्र क्षेत्रका सरोकारवालाबीच भएको गहिरो छलफलपछि विधेयकमा आवश्यक सुधार गरेर अगाडि बढाउने सहमति बनेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकको दौरान विधेयक फिर्ता नगरी, अपितु संशोधनसहित अघि बढाउनुपर्ने आवश्यकता रहेको स्पष्ट पारे। “सरकारले विधेयक फिर्ता लिन चाहेको छैन,” उहाँले भने, “विधेयकको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ।”
चलचित्रकर्मी, निर्माता संघ, र अन्य सरोकारवालाहरूले पनि विधेयकको संशोधनको पक्षमा आवाज उठाएका छन्। यससँगै, चलचित्र क्षेत्रको विकास र सुधारका लागि यस विधेयकमा सुधार आवश्यक रहेको उनीहरूको धारणा छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका महासचिव खगेन्द्र लामिछाने र चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी लगायतका प्रतिनिधिहरूले विधेयकमा समावेश गर्ने थप बुँदाहरूको सिफारिश गरेका छन्।
समितिका सभापति तुलसा कुमारी दाहालले बैठकमा भने, “हामी विधेयकको प्रत्येक दफामा सरोकारवालाहरूसँग छलफल गरी आवश्यक सुधारका सुझावहरू लिने तयारीमा छौं।” समितिले अब विधेयकमा सुधारका लागि लिखित सुझाव पनि मागेको छ।
यस निर्णयले चलचित्र क्षेत्रका विभिन्न पक्षहरूका लागि एउटा ठूलो अवसरका रूपमा चिनिन्छ, जसले विधेयकको दायरा र प्रभावकारिता बढाउन मद्दत पुर्याउनेछ।



प्रतिकृया दिनुहोस्