गृहिणी महिलाको श्रम नै अर्थतन्त्रको बलियो आधार : राज्यले नीतिगत मान्यता दिनुपर्ने अध्यक्ष प्रभा पोखरेलको आग्रह
काठमाडौं, मंसिर ८ । घर वा आफूले रोजेको स्थानमा बसेर रोजगारदाताको कार्यस्थलबाहिर वस्तु उत्पादन वा सेवा प्रदान गरिरहेका गृह श्रमिकहरूको योगदानलाई नीति, कानुन र तथ्याङ्कमा स्पष्ट स्थान दिइनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । गृह श्रमिक सरोकार समाज नेपालको पहलमा सोमबार (२०८३ मंसिर ७ गते / नोभेम्बर २३, २०२६) नयाँ बानेश्वरस्थित अल्फा हाउसको स्काई सदन हलमा आयोजित ‘नेपालमा घरमा आधारित श्रमिकहरूको आर्थिक योगदानको मूल्याङ्कन : सरोकारवालाहरूसँग छलफल कार्यक्रम’ मा सहभागी वक्ताहरूले अर्थतन्त्रमा गृह श्रमिक—विशेषगरी महिलाहरूको भूमिका विशिष्ट रहे पनि उनीहरूको पहिचान, अधिकार र आर्थिक-सामाजिक समुन्नति अझै सुनिश्चित हुन नसकेको बताएका हुन् ।
कार्यक्रममा गृह श्रमिक सरोकार समाज नेपालकी अध्यक्ष प्रभा पोखरेलले श्रम ऐन तथा नीतिमा परिमार्जन र गृह श्रमिकका मुद्दाको सम्बोधनका लागि लामो समयदेखि पैरवी गर्दै आएको उल्लेख गर्दै गृह श्रमिकको पहिचान, सञ्जालीकरण, क्षमता तथा सीप विकास र श्रमिकका रूपमा मान्यता एवं अधिकार सुनिश्चित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताउनुभयो । त्यसैगरी, राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले गृह श्रमिकको क्षेत्रमा नीतिगत सहकार्यका लागि हालसम्म भएका प्रयासबारे चर्चा गर्दै आगामी सत्रौँ आवधिक योजनामा यस विषयलाई उचित सम्बोधन गरिने र चालु सोह्रौँ आवधिक योजनाको मध्यावधि समीक्षाका क्रममा पनि गृह श्रमिकले अर्थतन्त्रमा पुर्याएको योगदानबारे विवेचना गरिने विश्वास व्यक्त गर्नुभयो ।
प्रस्तुत तथ्याङ्क तथा जीवनस्तर सर्वेक्षणअनुसार मुलुकमा करिब ३० लाख अनौपचारिक गृह श्रमिक रहेका छन्, जसमा करिब ५० प्रतिशत महिला छन् र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा गृह श्रमिकले करिब ११ प्रतिशत योगदान पुर्याएका छन् । तर, एक प्रतिशतभन्दा कमले मात्र रोजगारदातासँग लिखित करार सम्झौता गरेको तथा वार्षिक बिदा र तलबी बिदाजस्ता श्रम अधिकार तथा सुविधासमेत नपाएको अवस्थालाई औँल्याउँदै वक्ताहरूले अर्थतन्त्रमा यति ठूलो योगदान रहे पनि उनीहरूको श्रमको उचित मूल्याङ्कन, सामाजिक सुरक्षा र कानुनी संरक्षण अपरिहार्य रहेको बताएका छन् ।
सम्पन्न उक्त छलफल कार्यक्रमले घरभित्रै बसेर सीप र परिश्रममार्फत परिवार तथा देशको अर्थतन्त्रलाई टेवा दिइरहेका गृह श्रमिक महिलाहरूको भूमिकालाई उजागर गर्दै आगामी नीति तथा योजनामा उनीहरूको उन्नयन र अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने सकारात्मक सन्देश दिएको छ ।



प्रतिकृया दिनुहोस्